असार पन्ध्र: किसानलाई रोपाईंकै चटारो

पाल्पा जिल्लाका ठूला साना फाँटहरुमा रोपाईं गरी असार पन्ध मनाइँदैछ । मानो छरेर मुरी भित्रयाउने लक्ष्यमा किसानहरुले खेतमा धमाधम रोपाईं गरिरहेका छन् । रामपुर, माडीफाँट, हुँगी, गेझा, झडेवा, अर्गली, सर्देवा, कचललगायतका फाँटहरुमा किसानहरुको ठूलो उपस्थितिमा रोपाईं भएका छन् ।

असार प्रन्धमा हिलो कुच्ने भन्दै बुढापाका र अन्य पेशा व्यवसाय गर्नेहरु पनि रोपाईंमा पसेका छन् । खेतारीहरुले धानको बीउ रोप्दै वाली गीत र असारे गीत गाउँदा फाँट नै गुन्जाएमान भएको छ । नियमित रोपाईंमा हिंडेका कृषकहरुले हिलोमा खेल्दा माटो बसाउने गरेको बताउँछन् । आक्कलझुक्कल खेतमा जानेहरुले भने हिलो छ्यापाछ्याप खेलेर मनोरञ्जन लिने गरेका छन् ।

रोपाईं गरेपछि चामल कुटेर घिउमा पकाएको पुवा, केराको वोंगा, कर्कला, करेलाको अचार खाँदा हिलोपानीमा खेल्दा लागेको थकाई किसानहरुले बिर्सिने गरेका छन् । काठमाडौँ उपत्यका आसपासमा असार पन्ध्रमा दही च्यूरा खाने प्रचलन हिजोआज पाल्पातिर पनि सुरु भएको छ । खेतीमा आधुनिक प्रविधि र यन्त्र उपकरण भित्रिए तापनि छिमेकीहरु मिलेर रोपाईं गर्ने परम्परा भने फेरिएको छैन । पोखराथोकका मणिप्रसाद ढकालले पहिलेपहिले माडीफाँटभरि बाजे रोपाईं र ठूलाठूला रोपाईंको रौनकता नै बढी हुन्थ्यो भन्नुभयो ।

सरकारी आँकडा अनुसार पाल्पामा ३५ प्रतिशतमा रोपाई भएको छ । तिनाउमा ७०, माथागढी ४५, रम्भा ३५, पूर्वखोलामा ५, रैनादेवीछहरामा २०, रिब्दीकोटमा ५०, बगनासकालीमा ५५, निस्दीमा ५, तानसेन २५ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रामपुर फाँटमा भने रोपाई कमै मात्रामा भएको छ । यसपाली आधुनिक र उन्नत जातको बीउ बढेकाले धानको उत्पादनको वृद्धि हुने अनुमान गरिएको शिव अर्यालले बताउनुभयो ।

माडीफाँटका अधिकांश किसानहरुले टयाक्टरले खेत जोताउने, हिल्याउने गरेका छन् । खेतको आली लगाउने, बीउ काड्ने, मल छर्ने र धान रोप्ने काममा किसानहरु वरिमोपरिमो गरेका छन् । कोभिड १९ को बन्दाबन्दीमा फुर्सद मिलेको र निरन्तर पानी परेकाले किसानहरुले समयमै खेतमा रोपाईं सिध्याएका हुन् । सिंचाईको अभावमा वर्षे भेल छोप्न विवश अधिकांश स्थानका किसानहरुले यो असार पन्ध अगाडि नै रोपाईं गरेका छन् । समयमै पानी परेकाले चाँडै रोपाई भएको मदनपोखराका किसान बुद्धराज बस्यालको भनाई छ ।

माडीफाँटको गहिरी खेतमा रोपो गाँजिदै गएर हरियो देखिन थालेको छ । मौसमले साथ दिएको छ, पछि पनि मौसम मिल्यो भने उत्पादन राम्रो हुने किसानहरुको भनाई छ । नेपालमा मुख्यबाली धान भएकाले पनि वर्षे रोपाईंमा धेरै घरपरिवारको सहभागिता रहने गरेको छ ।

राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन र रोजगारी सुनिश्चित गर्न धान खेतीको ठूलो देन रहेको कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताउनुभयो । नेपाली समाजका हरेक सामाजिक र सांस्कृतिक कार्यहरुमा समेत धानको प्रयोग हुने गरेको छ ।
कृषिबाट प्राप्त हुने कुल ग्रार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिशत जमिनमा धान खेती हुँदै आएकोमा पहाडको हिस्सा भने ३० प्रतिशत मात्र रहेको छ । केही दशक अगाडिसम्म धान निर्यात गर्ने नेपाल अहिले ठूलो परिमाणमा चामल आयात गर्दै आइरहेको छ ।