पाल्पा । कोरोनाको त्रास बढ्ने सम्भावनालाई मध्यनजर गरेर अन्य जिल्लाको तरकारी आयातमा लगाइएको प्रतिबन्ध पाल्पाले आज फुकुवा गरेको छ ।
मूलत भारतबाट आउने तरकारी र ढुवानीका क्रममा कोरोना संक्रमण हुन सक्ने भन्दै आपूर्ति समितिले तरकारीमा रोक लगाउने निर्णय गरेको हो । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजीकरण गर्न गठित जिल्लास्तरीय समितिले खाद्यान्न तथा अति आवश्यक वस्तुको अवस्था अनुगमन गर्न आपूर्ति समितिले गठन गरेको थियो । बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक लगाउने निर्णय गरेपछि स्थानीय उपभोक्ताहरुले ताजा तरकारीका लागि विभिन्न विकल्प खोजेका थिए ।
तानसेन नगरपालिकाले युवा परिषदमार्फत् सहुलियत दरमा घरघरै तरकारी बिक्री बितरण ग¥यो । नगरपालिकाले ढुवानी र प्याकेजिंग अनुदान दिएपछि उपभोक्ताले किसानको लागत मूल्यमै तरकारी खान पाएका थिए । तानसेन युवा परिषदका संयोजक गुराँश आत्रेयका अनुसार १४ हजार किलोग्राम काउली, ३३ हजार १ सय ५० किलोग्राम बन्दा, ८ हजार किलोग्राम कांक्रा, १ हजार ३ सय किलोग्राम सेमी, र ४ सय ५० किलोग्राम धनियाँ तरकारी बिक्री वितरण गरिएको बताउनुभयो ।
असाधारण परिस्थितिमा थालनी गरिएको कृषि भ्यान: घरदैलो सेवा जिल्लास्तरीय आपूर्ति समितिले छिमेकी जिल्लाबाट तरकारी ल्याउन खुल्ला गर्ने निर्णय गरेपछि आफूहरुले स्थगित गर्न बाध्य भएको परिषद संयोजक आत्रेयको भनाई छ । युवा परिषदले आज प्रेस विज्ञप्ति प्रकाशित गरी कृषि भ्यान घरदैलो सेवा स्थगित गर्ने निर्णय गरेको हो । विज्ञप्तिमा परिषदले संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको देशमा स्थानीय सरकारको ढुवानी र प्याकेजिंग अनुदान र सहुलियतपूर्ण सेवा आज नभए भोलि अवश्य सुनिश्चित हुनेछ र कृषि भ्यानमार्फत् घरघरै तरकारीको कार्यक्रम आउने दिनमा अवश्य लागू हुनेछन् भन्ने उल्लेख गरेको छ ।
उपभोक्ता हित संरक्षण मञ्च पाल्पाका अध्यक्ष कृष्णराज अधिकारीले तानसेन युवा परिषदले उपभोक्ता र किसानलाई बन्दाबन्दीमा ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले ताजा तरकारी उपभोक्ताले किसानकै मूल्यमा पाउने ज्ञारेन्टी गरेर घरघरै सेवा दियो, यसको सधैभर उपभोक्ताले संझिरहने छन् भन्नुभयो । जिल्लास्तरीय आपूर्ति समितिले बाहिरबाट आउने तरकारीमाथिको रोक फुकुवा गरेर अधिकतम् नाफा लिने व्यापारी र ठगी गर्नेहरुलाई प्रोत्साहन गरेको दावी गर्नुभयो ।
तानसेन युवा परिषदले कृषि भ्यान सुरु गरेपछि रम्भा, बगनासकाली, माथागढी र तिनाउ गाउँपालिकाले पनि यो सेवा सुरु गरेका थिए । पाल्पाको जिल्ला सदरमुकाममा भएको सकारात्मक अभ्यासलाई सिको गरेका छिमेकी गाउँपालिकाहरुले पनि आपूर्ति समितिको निर्णयपछि घरघरै तरकारी दिने कार्यलाई कार्यान्वयन गर्न सकिदैन । नगर युवा परिषदकाे विज्ञप्ति यस्ताे रहेको छ ।
प्रेस विज्ञप्ति !
आदरणीय तानसेनबासी दिदीबहिनी दाजुभाइहरु,
कोरोना महामारी रोकथामका लागि घोषणा गरिएको बन्दाबन्दीका बेला तानसेन नगरपालिकाभित्र ताजा तरकारी पर्याप्त पाउन नसकिएको र तरकारीको मूल्य पनि अत्यधिक रहेको थाहा पाएपछि तानसेन युवा परिषदले ताजा तरकारी घरघरै पु¥याएर किसानकै मूल्यमा बिक्री गर्ने अभ्यास थालेको यहाँलाई अवगत नै छ । प्राकृतिक विपद र संकटका बेला एकले अर्कोलाई सहयोग गर्ने नेपाली भावना र परम्पराको संझना र सम्मान गर्दै किसानको बारीबाट तरकारी उठाउने र उपभोक्ताको घरघरमा पु¥याएर सेवा दिने काम गरेका थियौं । तरकारी घरदैलो सेवा मानवीय सहयोग मात्र थिएन, खान, बाँच्न पाउने मानिसको नैसर्गिक अधिकार र मानवअधिकारको सुनिश्चितता समेत थियो भन्ने हामीलाई लागेको छ ।
तानसेन युवा परिषदले मदनपोखरा, दमकडा, कुन्सरे, डुम्रे, अर्गलीलगायतका क्षेत्रका किसानको बारीबाटै तरकारी उठाउने, कृषि भ्यानमार्फत् ढुवानी गर्ने कार्य ग¥यो । २०७७ बैशाख ७ गतेदेखि २०७७ बैशाख १६ गतेसम्म १४००० किलोग्राम काउली, ३३१५० किलोग्राम बन्दा, ८००० किलोग्राम कांक्रा, १३०० किलोग्राम सेमी, र ४५० किलोग्राम धनियाँ तरकारी बिक्री वितरण गरिएको छ । यो अभियान पाल्पामा उत्पादनको स्थिति थाहा पाउने र आत्मनिर्भरताको बाटो खोज्ने एउटा माध्यम पनि बनेको छ ।
कोरोना संक्रमण, रोकथाम र उपचार सहजीकरण समिति मातहत रहेको जिल्ला आपूर्ति समितिले छिमेकी जिल्लाबाट तरकारी ल्याउन खुल्ला गर्ने निर्णय गरेपछि युवा परिषद् असाधारण परिस्थितिमा थालनी गरिएको कृषि भ्यान: घरदैलो सेवा हाललाई स्थगित गर्न बाध्य भएका छौँ । उपभोक्ता र किसानको हित विपरितको निर्णय पनि कानुनका पक्षपाती भएकाले उल्लंघन गर्ने दुस्साहस गरेनौँ । बन्दाबन्दीका बेला आपूर्ति समिति गरेको निर्णयले हाम्रो भावनामाथि मात्र होइन, सिंगो पाल्पाली उपभोक्ता र श्रमजीवी किसानको सहज वातावरणमा जीवनयापन गर्न पाउने नागरिक अधिकारमाथि नै ठाडो हस्तक्षेप गरेको छ ।
संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको देशमा स्थानीय सरकारको ढुवानी र प्याकेजिंग अनुदान र सहुलियतपूर्ण सेवा आज नभए भोलि अवश्य सुनिश्चित हुनेछ । कृषि भ्यानमार्फत् घरघरै तरकारीको कार्यक्रम आउने दिनमा अवश्य लागू हुनेछन् । यो अभियानमा न्यायप्रेमी जनता र श्रमजीवी किसानको पक्षमा साथ दिने तानसेन नगरपालिकालाई धन्यवाद छ । लागत मूल्यमा तरकारी उपलब्ध गराउने किसान, हौसला प्रदान गर्ने नगरप्रमुख अशोककुमार शाही, व्यवस्थापन गरिदिने मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी, स्वयम्सेवी भावनाले अहोरात्र खटिने परिषदका साथीहरु, जनप्रतिनिधिहरु, राष्ट्रसेवकहरु, पत्रकार मित्रहरु सबैप्रति आभार व्यक्त गर्दछौ । यस्ता संकटका आगामी दिनहरुमा पनि तानसेन युवा परिषद् अग्रभागमै रहने प्रतिवद्धता दोहो¥याउन चाहन्छु ।
२०७६ बैशाख १६
गुराँश आत्रेय
संयोजक
तानसेन युवा परिषद्, पाल्पा