एसइई दिने विद्यार्थीलाई पढाउँदै रेडियो मदनपोखरा


विजयकुमार बौडेल 
चैत २४ – लकडाउन लम्बिएपछि सामुदायिक रेडियो मदनपोखरा र तानसेन नगरपालिकाले एसइई दिने विद्यार्थीहरुको लागी दुरशिक्षा कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

एसईई परिक्षाको समय तालिका अनिश्चित भएपछि सामुदायिक रेडियो मदनपोखरा मार्फत एसईइ लक्षित पठन पाठन शुरु गरेको नगरपालिकाले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनको अवस्थालाई मध्यनजर गरी उत्पादन गरिएको दूरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशाला हरेक दिन विहान सवा १० बजेदेखि ३ बजेसम्म प्रसारण हुँदैछ ।

विद्यार्थीहरुको ध्यान बाहिरी कुरामा नजाओस् भन्ने उद्देश्यले कार्यक्रम बनाइ कार्यान्वनमा ल्याइएको तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले बताउनुभयो । त्यसरी कार्यक्रम संचालन गर्दा घरमा विद्यार्थीहरुले ४/५ घण्टा रेडियो कार्यक्रममै विताउन सक्ने प्रमुख शाहीले बताउनुभयो ।


एसइई दिने तयारीमा रहेका बिद्यार्थीका लागि सहयोगी कक्षा एसइई पाठशालामा दैनिक ५ वटा कक्षा सञ्चालन हुँदैछ । १०.१५ देखि ११ सम्म होत्रीराज ढुंगानाले अंग्रेजी बिषय, ११.१५ देखि १२ बजे सम्म रामप्रसाद ढकालले अनिवार्य गणित बिषय, १२.१५ बजेदेखि १.०० बजे सम्म जीवन आचार्यले कम्यूटर, १.१५ देखी २ बजे सम्म रामजीवन ज्ञवालीले विज्ञान, २.१५ देखि ३.०० बजे सम्म एकराज ज्ञवाली सामाजिक अध्ययन अध्यापन गर्नुहुने छ ।

जनप्रतिनिधि, सारेमका पदाधिकारी, शिक्षक तथा पत्रकारहरूले जुम भिडियो कन्फ्रेन्स मिटिङ गरी दूरशिक्षा रेडियो कार्यक्रम प्रसारण गर्ने निर्णय गरेको हो । यो कार्यक्रमले विद्यार्थीलाई एसईइ तयारीमै ध्यान केन्द्रित गर्ने र शिक्षकहरु पनि संचार सम्पर्कबाट विद्यार्थीसँग रहदा थप प्रभावकारी हुने सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रबन्धक राजेश कुमार अर्यालले बताउनुभयो ।

तानसेन नगरपालिकाको विद्यालय शिक्षा सुधारका लागि यो रचनात्मक कार्यक्रम हो । यसबाट नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सकारात्मक परिवर्तनहरु देखिने र अभिभावकहरुको मन पनि सामुदायिक विद्यालय तर्फ फर्किने विश्वास गरिएको छ ।