विजयकुमार बौडेल –
असार २८ – यसअघी आकाशी र सेतो रङ मिसिएको ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय महत्वको रानीमहलमा पछिल्लो समय सेतो मात्र रंगरोगन पोतिएपछी सामाजिक सञ्जालमा बहस भएको छ ।
रानीमहल बनाउने क्रममा सेतो नै भएपनी २०६३/०६४ सालमा आकाशी र सेतो रङ लगाईएको थियो । त्यसपहछी अहिले पुनः सेतो मात्र रङ लगाएपछी सामाजिक सञ्जालमा रङ फेर्नु ठिक कि बेठिक भन्ने विषयमा बहस चलेको हो ।
तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले तानसेन नगरपालिकालाई २ बर्षअघी रानीमहलको संरक्षण गर्ने जिम्मेवारी दिनुभएको थियो । जिम्मेवारी पाएको २ बर्षपछी मात्र तानसेन नगरपालिकाले रङरोगन गर्ने काम गरेपनी नागरिकहरुले मिश्रीत मत राखेका छन् । चालु आर्थिक बर्षमा नगरपालिकाले रङरोगन र सरसफाईका लागी बजेट विनियोजन गरेर काम गरिरहेको छ । ४० लाख रकम विनियोजन गरेर नगरपालिकाले ५ वटा सौचालय सहित रङरोगन गरिरहेको जनाएको छ ।
रङ फेरिएपछी सामाजिक सञ्जालमा विभिन्न फरक विचारहरु आईरहेका छन् । तानसेन ९ का यादव प्रसाद सापकोटाले डिजाईनमा गोल्डेन र व्ल्याक फिल गर्दा अझै राम्रो देखिन्छ कि भन्नुभएको छ । त्यस्तै पत्रकार भुवन रायमाझीले बिरुप देखियो, पहिलेको धेरै राम्रो भन्नुभएको छ । तानसेन ८ का विशाल अर्यालले निलोपनी ठीक थ्यो, सेतो पनि ठीक छ । दरबार हरु धेरैजसो सेतै हुने गर्छन् सायद त्यसैले रानीमहल लाई सेतो बनाइयो । भन्नुभएको छ ।
सामाजिक अभियन्ता बिष्णु कंडेलले पहिलेको नै धेरै राम्रो छ भन्नुभएको छ । शिक्षक श्रीकृष्ण पोखरेलले मान्छे अनुसार हेराई पनि फरक फरक हुने गर्दछ, कसैलाई राम्रो लागेको कसैलाई नराम्रो लाग्न सक्दछ, यो मामवीय स्वभाव हो । यो सामान्य कुरालाई विवादास्पद नबनाउँ । बरू यो भन्दा अझ राम्रो कसरी बनाउन सकिन्छ ? त्यसतर्फ ध्यान दिँदा उचित होला । पक्कै पनि केहि सोचेरै परिवर्तन गरिएको होला । परिवर्तन हुनु र गरिनु आफैमा नराम्रो होइन । सकारात्मक साेंचको विकास गरौं । भन्नुभएको छ ।
साहित्यकार पुष्कर राज रेग्मीले पहिचान नगुमोस, निलो संसार प्रशिद्ध भईसकेको छ, सेतोको वकालत अब गर्नु पर्छ, वकालत गर्दागर्दै नेपालीको दिनचर्या बित्ने भो । भन्नुभएको छ ।
यद्यपी धेरैजसोले आकाशी र सेतो मिसिएको रानीमहल ब्राण्ड नै भईसकेको भन्दै रङ फेर्नु उपयूक्त नभएको विचार व्यक्त गरेका छन् ।