ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना

पाल्पा । जापानी समाजसेवी काजुमासा काकिमी ओके बाजेले उत्कृष्ट उद्यम गर्ने उद्यमीलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गरी सामुदायिक रेडियो मदनपोखरामा अक्षयकोष स्थापना गर्नुुभएको छ ।

पाल्पा जिल्लामा कृषि, घरेलु उद्योग, पर्यटन र रोजगारी सिर्जना गर्ने जस्ता उद्यम गरेका व्यक्तिलाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना गर्नुभएको हो जापानी समाजसेवी बाजे र सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसी बीच सारेम उद्यम प्रवद्र्धन पुरस्कार अक्षयकोषको संझौता–पत्रमा आज हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि ओके बाजेले मिडोरी जापानको तर्फबाट प्राप्त दुई लाख रुपैँयाको चेक हस्तान्तरण गर्नुभयो ।

काजुमासा काकिमी ओके बाजेले आर्थिक विकासका लागि उद्यमशीलता महत्वपूर्ण हुने भएकोले उद्यमी र इलमीलाई पुरस्कृत गरेर हौसला बढाउने यो कार्यक्रम धेरै मन प¥यो भन्नुभयो । उहाँले भन्नुभयो, ‘यो दुई लाखको अक्षयकोष भर्खर जन्मेको छ । यसलाई हुर्काउने र बढाउने काम गर्नुपर्छ । पाँच वर्षपछि यो कोषको रकम वृद्धि हुने आशा गरेको छु ।’

सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले उद्देश्यबाट कहिल्यै बिचलित नहुने, स्रोतको दुरुपयोग नगर्ने र दुरुपयोग गर्नेका विरुद्ध आवाज उठाउने संस्था भएकाले ओके बाजेबाट प्राप्त कोषको राम्रो सदुपयोग गर्ने बताउनुभयो । नागरिकहरु आर्थिक क्रियाकलापमा संलग्न नहुँदा सम्म देश समृद्ध नहुने र त्यसका लागि मिहिनेत गर्नेलाई हौसला बढाउन यो कोष फलदायी हुने उहाँको विश्वास छ ।

कार्यक्रममा सारेमका उपाध्यक्ष गुणाकर अर्याल, तानसेन ८ का वडा सदस्य ढाका कुमारी पंगेनी, शिक्षक सुन्दर श्रेष्ठले पाल्पामा ओकेबाजेको धेरै ठूलो योगदान रहेको र आफ्नो क्रियाकलाप सुनाउने रेडियोमा अक्षयकोष राखेकोमा धन्यवाद दिनुभयो ।

जापानमा छोराको मृत्युपछि बाबुआमाले मिडोरीको नाममा स्थापना गरेको फाउन्डेशनले ओके बाजे मार्फत् पाल्पामा धेरै सहयोग गर्दै आइरहेको छ । पाल्पा जिल्लालाई कर्मथलो बनाई उद्यम गरेकोे, आफ्नो काममा पूर्ण व्यवसायिक रहेको व्यक्तिलाई पुरस्कृत गर्ने सम्झौता रहेको सारेमका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।