
बोली । बैसाख १३ – माथागढी गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी गरेपछि सरोकारवालाले असन्तुष्टी व्यक्त गरेका छन् ।
गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार भएकाले चालु शैक्षिक शत्रदेखि सञ्चालन गर्न सबै विद्यालयलाई अनुराेध गरेकाे छ । यसअघि ऐच्छिक अंग्रेजी र कम्प्यूटर पढाई हुँदै आएकोमा गाउँपालिकाले कक्षा १ र ६ मा हाम्रो माथागढी भन्ने पाठ्यक्रम लागु गर्ने तयारी गरेपछि सरोकारवालाले असन्तुष्टी जनाएका हुन् । संविधान र शिक्षा ऐनले दिएको अधिकार अनुसार माथागढी गाउँपालिकाले १०० पुर्णाङ्कको हाम्रो माथागढी पाठ्यक्रम सञ्चालन गर्ने तयारी गरेकाे गाउँपालिकाका अध्यक्ष सन्ताेष थापाले बताउनुभयाे ।
नेपाल सरकारले प्रारूप दिएकाे भरमा बनेका स्थानीय पाठ्यक्रम स्थानीय माग र सराेकारवालाकाे रूचीलाई सम्बाेधन गर्नुपर्ने सराेकारवालाकाे सुझाव रहेका छ । “माथागढीमा पढेका विद्यार्थी कुन बजारमा विक्ने ?” माथागढी २ रुप्सेका झपेन्द्र थापाले भन्नुभयो, “अन्तराष्ट्रिय बजारमा विक्ने कम्प्यूटर, अंग्रेजी जस्ता पाठ्यक्रम हटाएर स्थानीय पाठ्यक्रम लागु गर्नु सस्तो प्रचारबाजी बाहेक अरु केही होइन । यो पाठ्यक्रमले अहिलेको बजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन ।”
स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजक अशेष भट्टराईले कक्षा १ र ६ को पाठ्यक्रममा माथागढीमा उब्जनी हुने तरकारी, अन्नबाली र फलफूल देखी माथागढीका विभिन्न व्यक्तित्व, धार्मिक स्थल, मनाउने विभन्न पर्व तथा चाड, प्रचलित संस्कार, स्थानीय बोलीचाली, अक्षर तथा गन्ती समेटिएको बताउनुभयो । स्थानीय कला सम्पदा, सीप व्यवसाय तथा प्रविधि, जडिबुटीको र प्रयोग साथै खेलहरु लगायत स्थानीय स्रोत साधन र पर्यटनलाई उल्लेख गरिएको संयोजक भट्टराईले बताउनुभयो ।
माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले स्थानिय तहको पहिलो अभ्यास भएकाले असन्तुष्टी आउनु स्वाभाविक भएको भन्दै सबैलाई समेटेर पाठ्यक्रम लागु गर्ने बताउनुभयो । अध्यक्ष थापाले दुई चार दिनभित्रै बिषयगत शिक्षकहरुलाई बोलाएर पढाउने तरिका र सहजिकरण गर्ने बिषयमा छलफल गर्ने बताउनुभयो ।
सरोकारवालाहरुले भने शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद लगाएत संग नयाँ पाठ्यक्रमको प्रभाव र मुल्याङ्कन नै नगरि हँचुवाको भरमा लागु गर्ने तयारी थालेको गुनासो गरेका छन् । अध्यक्ष थापाले भने आठ वटै वडामा वृहत छलफल गरेर सुझाव र प्रतिक्रियाको आधारमा पाठ्क्रम निर्माण गरिएको दावी गर्नुभयो ।
गाउँपालिकाको अदुरदर्शिताका कारण विद्यार्थीलाई समयसापेक्ष अनाआवश्यक विषयमा शिक्षा दिने प्रयत्न गरिएको सरोकारवाला निकायको भनाइ छ । शैक्षिक सत्र सुरु भएको आधा महिना सम्म पनी विद्यालयहरु के पढाउने भन्नेमा अन्यौल छन् । अध्यक्ष थापाले पाठ्यक्रम अनुसार पाठ्पुस्तक तयार हुन अझै २/४ महिना लाग्न सक्ने बताउनुभयो ।
माथागढीको विषयमा विद्यार्थीहरुलाई पाठ्यक्रममा नै समावेश गर्दा विद्यार्थीमा पर्ने मनोबैज्ञानिक असर र त्यसको प्रभावको विषयमा गाउँपालिका नै अन्यौल रहेको छ ।