कालीमाटीमा पहिराे खस्दा तानसेन बुटवल सडक बन्द

तानसेन बुटवल सडकखण्डको कालीमाटीमा पहिरो खस्दा बिहानदेखि यातायात अवरुद्ध भएको छ ।

लगातारकाे पानीले तिनाउ ५ कालीमाटीमा पहिराे खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-तानसेन सडकखण्ड अवरुद्ध भएको छ। सडक बिस्तार गरेकाे क्षेत्र वरिपरि ढुङ्गा सहितको ठुलाे पहिरोले सडक पुरेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले सडक डिभिजन कार्यालयसँग समन्वय गरी सडक खुलाउने प्रयास गरेकाे बताउनुभयाे ।

सडकमा पहिराे खसेपछि यात्रुहरू अलपत्र परेका छन् भने सडकमा सवारी साधनकाे लाम लागेकाे छ । झुम्सा, सिद्धबाबा, गौडे पुललगायतका स्थानमा पनि पहिराे खसेकाे छ । पानी झमझम परिरहेकाले बाटाे खाेल्न असजिलाे भएकाे छ ।

सिद्धबाबा पहिरोको भाइरल भिडियो
गाडीका चालकले यात्रुहरुलाई पानीको भेल, पहिरो र स्थानका बारेमा बताइरहेका छन् । उनी भन्छन्, ‘अहिले हामी सिद्धबाबामा छम् । पानी परिराछ । जान सकिन्न ।’ बसमा रहेका यात्रुहरु ढोकाबाट बाहिर निस्कने प्रयास गर्दछन् । फेरि चालक भन्छन्, ‘गइन्न, गइन्न । केही हुन्न नडराउनुस् ।’


गाडीको अगाडी बसेर मोवाइल भिडियो खिचिरहेका व्यक्तिले घुमाइघुमाई वरिपरिको दृष्य कैद गरिरहेका छन् । चुनढुंगा बोकेका टिप्पर, जीप र बस सडकमा रोकिएको अवस्थामा छ । भीषण वर्षात् भइरहेको छ । वसन्तपुर डाँडाबाट झरेको भेल खोलोझैं बर्सिएको छ । बसका यात्रीहरु अत्तालिएका छन् । गाडी चालकलाई दोभानमै रोक्न भनेको भनेर गुनासो गरेका छन् ।


अगाडी र पछाडी दुबैतिर पहरोबाट पानी झरेको छ । ढुंगासहितको पानी सडकमा बजारिएको आवाज सुनिन्छ । यात्री हिंडेर सिद्धबाबा पुग्ने कोशिस गर्दछन् । चालक यात्रीलाई रोक्दै भन्छन्, ‘गाडीबाट नझर्नुस्, भित्रै बस्नुस् । यहाँ गाडी सुरक्षित छ, गाडीबाट झरे बाँच्नुहुन्न । नझर्नुस् । सिद्धबाबाले रक्षा गरुन् ।’ उनी भन्छन्, ‘डाइभरको जीन्दगी नी गाह्रो छ हजुर । एकदिन मर्ने हो, मरे मरौंला ।’ 


आधा घण्टापछि पानी बिदो हुन्छ । यात्रीहरु सिद्धबाबा पुग्ने सुरले पैदल दौडन्छन् । एकछिन पछि यात्री नभएको बस अगाडि बढ्छ ।

 


सिद्धबाबा खण्डमा वर्षात्, हिउँद जतिखेर पनि यात्रीहरुले यसैगरी सास्ती नै खेपिरहेका छन् । सरकारले बजेट सुनाउँछ, योजना बताउँछ तर बाटोको स्वरुप झनभन्दा झन् बिग्रिरहेको छ ।