कोभिड १९ महामारीमा पत्रकारको आर्थिक संकट र सिर्जित चुनौतिहरू


राजेशकुमार अर्याल
अध्यक्ष, नेपाल पत्रकार महासंघ, पाल्पा

कोरोना रोग पहिचान भएको तीन महिनाको अवधिमा विश्वव्यापी फैलिनु र लगभग सबै देशमा संक्रमण हुनुले विश्वभर नै चिन्ताजनक अवस्था सिर्जना ग¥यो । विकसित भनिएका देशमा समेत रोकथाम र उपचारमा ध्यान नपुग्दा लाखौँ मानिसको मृत्यु भएको तथ्यले यो स्वभाविक रुपमा जटिल स्वास्थ्य समस्या रहेको निश्कर्ष निकाल्न अप्ठेरो भएन ।

सन् १९१९ को डिसेम्बर महिनामा चीनका उहान सहरमा केही मानिसको समूहलाई श्वासप्रश्वासको समस्या देखियो । अध्ययनबाट यो एकदम नयाँ प्रकारको भाइरस उनीहरुको शरीरमा भएको पुष्टी भयो । जसको वनावटको कोरोना भाइरसँग मिल्न गयो । त्यसलाई Corona Virus 19 नाम दिइयो र भाइरसको संक्रमणको स्थितिलाई Corona Virus Disease 19, Covid 19 भनियो । यो कोभिड भाइरसको असर अल्पविकसित मूलुकमा मात्र होइन विकसित मूलुकहरुले पनि भोगिरहेका छन् । झण्डै वर्ष दिनसम्म मानिसहरु खोपका लागि अधैर्य रहे, खोप विकासपछि मानिसहरुमा आत्मविश्वास वृद्धि हुँदै गएको छ ।

जनताको सूचना पाउने हकलाई निशर्त कार्यान्वयन गर्न सार्वजनिक सूचना प्रवाहको क्षेत्रमा काम गर्ने पत्रकारहरू समाजमा अग्रभागमा रहन्छन् । कोभिड १९ को परिस्थितिमा पनि पत्रकारहरूले अग्रिम मोर्चामा रहेर विश्वसनीय सूचना र समाचार दिन अग्रसर देखिएका हुन् । कोभिड १९ को रोकथाम, उपचार र नियन्त्रणका लागि सिंगो नेपाल र पाल्पामा पत्रकारहरूले निर्वाह गरेको भूमिकालाई नजरअन्दाज गर्न सकिदैंन ।

नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार नेपालमा १३ हजार पत्रकार छन् जसले आफूलाई पत्रकार हुँ भनेर सार्वजनिक पहिचानसहित भन्छन् । पाल्पामा सयकाे हाराहारीमा पत्रकार महासंघकाे सदस्यता र महासंघमा नरहेका करिव ५० सञ्चारकर्मी क्रियाशिल रहेका छन् । देशको कुल जनसंख्याको एक प्रतिशतभन्दा कम रहेको पत्रकारिता क्षेत्रका पेशाकर्मीले भोगेका चुनौति जीवन र जीविकोपार्जनकै हो । कोभिड १९ पछि किन पत्रकारिता क्षेत्र सुरक्षित भइरहेको छ । आमसञ्चारमाध्यमको परम्परागत विज्ञापन संकलन प्रणाली प्रभावित भएको छ । उद्योग, कलकारखाना, व्यवसाय र अर्थतन्त्र नै प्रभावित भएका बेला मिडियामा जाने विज्ञापन रोकिएको छ । मिडियाको आम्दानी अप्रत्यासित रुपमा घटेको छ, खर्च भने बढेको छ ।

सञ्चारगृहको तुलनामा त्यसमा कार्यरत जनशक्तिको अवस्था झन कहालीलाग्दो छ । महामारीको यो विषम परिस्थितिमा पत्रकारको तलव कटौटी हुने र कर्मचारी कटौती गर्ने समस्या देखा परेको छ । श्रमको सम्मान गर्नुपर्ने बेला कतिपय सञ्चारमाध्यमले श्रम गर्नेको अवमूल्यन गरेका छन् । कतिपय सञ्चारमाध्यम संस्थागत भएका छैनन्, संस्थागत भएका पनि आर्थिक संकटबाट प्रताडित छन् । धेरैजसो सञ्चारमाध्यममा लगानीकर्ता र काम गर्ने मानिस एउटै छ । स्व उद्यम गरेका छन् । आफै मालिक आफै कामदारको अवस्थामा छन् । आफै सञ्चालक आफै सम्पादक बनेका छन् ।

प्रेसले कस्तो संकट भोगिरहेको छ भन्ने कुरा स्वयम् प्रेसमा कार्यरत जनशक्तिले नै महशुस गरेको छ । सञ्चारगृहले पत्रकार पाल्न सकिदैन भन्यो र पत्रकारहरु बिदा बसे । पालैपालो बिदा बसे । लकडाउन खुल्यो तर सञ्चारगृहले बिदामा राखेका पत्रकारलाई बोलाएनन् । तथापी पत्रकारले यत्रो ठूलो सद्भाव देखाइरहेका छन् । मिडिया हाउसले श्रम ऐनको अनुसार करारपत्र पालना गरेका छैनन् ।

प्रेसका बारेमा संविधाले गरेका व्यवस्था, अर्थतन्त्रको अवस्था र सञ्चारमाध्यमको व्यवस्थापकीय पक्षमा भर पर्दछ । नेपालको संवैधानिक व्यवस्थामा प्रेसका माग सम्बोधन भएका छन्, अर्थात् सुनुवाई भएको छ । प्रेसमैत्री संविधान ऐन कानुन र व्यवहारमा परिणत हुन अवश्य समय लाग्ला । अहिले कानुनी रुप र व्यवहारिक पक्षमा कतिपय सवालमा छलफल र वहस भइरहेका छन् ।

महामारीका समयमा प्रेस समस्यामा छ, संकटमा छ । स्वरोजगारमुखी मिडिया मात्र होइन, कर्पोरेड मिडियाको अवस्था पनि संस्थागत देखिदैंन । श्रम मुद्धालाई व्यवस्थापन गर्न सकेका छैनन् । आर्थिक संकटपछि कर्पोरेड मिडियाबाट पत्रकारहरु निकालिएका छन्, निस्किएका छन् । पत्रकारको जागिर सकिएको छ तर पत्रकारिता सकिएको छैन । मिडियाले पैसा दिन सक्दैन, आधा महिनाको तलव लेउ वा जागिर छोड भन्न बाध्य छ । सबैले रमाइलोका लागि मात्र पत्रकारिता गरेका हुँदैनन् ।

विषयवस्तुको उठान र एंगलिङमा त्रुटी होला तर समाज कहिल्यै नउठेका मुद्दालाई पत्रकारले बाहिर ल्याएका छन् । तथ्यको परीक्षण र सत्यको खोजीमा कमजोरी रहलान् तर एजेन्डाविहीन बनेका छैनन् । कन्टेन्टलाई जवाफदेही बनाउन हरेक नागरिक नागरिकको बीच वहस र छलफल प्रारम्भ हुनुपर्छ । त्यसले विश्वसनीय सूचना प्रवाह गर्न मद्दत गर्दछ । हल्ला र फेक सूचना फैलन रोकिन सक्छ ।

आर्थिक संकट यस्तो हुन्छ कि जसका विषयमा बोल्न पनि समस्या हुन्छ । कोभिडका कारण आर्थिक संकट भयो भनेर सञ्चारमाध्यमले पत्रकारलाई जानकारी दिए । तलव कटौती गरे । पारिश्रमिक घट्यो, काम र जिम्मेवारी बढ्यो । पत्रकारहरु ल्याउने लैजाने गाडी पनि बन्द गरिए । हौसला, प्रेरणा र प्रोत्साहन चाहिने बेला हतोत्साहित पार्ने काम भयो । कतिपय मिडियामा गाडी र चालक स्टयान्टबाइ छ तर गाडी गुडेन । यो जटिल अवस्थालाई मूल्यांकन गरेर कतिपयले पत्रकारको दुष्मन पत्रकार नै बन्ने अवस्था छ भनेर भनेका छन् । पेशा र सीपले दक्ष भएको जनशक्तिलाई समस्या कम छ । मिडिया क्षेत्र आफैमा एउटा उद्योग हो । मिडियाले समाचार र सूचना प्रवाह गर्छ । उत्पादन र वितरण गर्छ । तर उद्योगका रुपमा परिभाषित छैन । जनमत निर्माण गर्न, सोच्न, सोचेर बोल्न सघाउने भएकाले मिडियाको जिम्मेवारी ठूलो छ ।

पत्रकारितामा व्यवस्थापनमा समस्या छ । मालिकलाई मन लागेका बेला पत्रकारले जागिर छोडिदिनुपर्ने मानसिकता देखिन्छ । प्रेस यस्तो क्षेत्र हो जहाँ गरिमाको भयले पनि पत्रकारहरु आन्दोलनमा जाँदैनन् । मानवीय स्रोतलाई सेवामा ल्याएपछि सेवामुक्त गर्न विधि, प्रक्रिया र मान्यता अवलम्बन गर्नुपर्ने देखिन्छ । मानवीय जनशक्तिको सीप उपयोग गरेर सञ्चारगृहले नाम वा दाम कमाउने मात्र होइन कि दायित्व छ भन्ने भूमिका पूरा गर्नुपर्छ ।

श्रमिक र व्यवस्थापकका बीचमा हुने सौदाबाजी गर्दा मिडिया हाउसका कारोवार, कर र नाफाको बहस गर्नुपर्ने देखिएको छ । मिडियाले लामो समय लगानी गरेर कमाएको विश्वसनीयता यस्तै मुद्दाले कमजोर बनाइदिएको छ । कान्तिपुर, अन्नपूर्ण पोष्ट जस्ता ब्रोडसिटका मिडियाले समेत पत्रकार निकालिरहेका छन् । सुनिन्छ, ‘कान्तिपुरको प्रेसले पत्रिका होइन, पैसा छाप्छ ।’ त्यही मिडिया श्रमजीवीको मामिलामा सहयोगी छैन । अहिले मिडियाकै बारेमा जनमानसमा बहस सुनिन्छ । पत्रकारहरुलाई साथमा लिएर अगाडि बढेको भए मिडियाहरु यतिधेरै सार्वजनिक वहसमा जानुपर्ने थिएन ।

पत्रकारहरुको आफ्नो असन्तुष्टी र गुनासो बाहिर आउन थालेको छ । सामाजिक सञ्जाल र मिडियामा आउन थालेको छ । यसले मिडियामाथिको विश्वसनीयता घट्छ । शिक्षा, तालिम वा अनुभव हासिल गरेर पत्रकारितामा संलग्न मानिसहरु छन् । प्रविधिको प्रयोग गरेर सूचना प्रवाह गर्ने मानिसहरु पनि छन् । शिक्षा र प्रविधि हुनेहरुले सञ्चारगृहका समस्या बाहिर ल्याएका छन् ।

मिडियामा धेरै मिहेनेत गरेर समाचार बनाउने पत्रकारहरु छन् । तिनीहरु सबै आफ्नो कानुनी अधिकारका लागि पत्रकार श्रम अदालत जानुपर्छ । चित्त नबुझेको कुरामा उजुरी गर्नुपर्छ । ट्रेड युनियन आन्दोलनमा लागेकाहरुले पत्रकारहरुलाई आलोचना गर्ने मुख्य कारण पनि आन्दोलन गर्न नसक्ने अवस्था हो । कुनै पनि पत्रकारले मिडियामार्फत उठाइरहेका मुद्दा आफूलाई उठाइरहेको छैन । देश र समाजका लागि काम गरेका पत्रकारहरु समेत आन्दोलित हुन सक्दैनन् । पत्रकारहरु अदालतमा जान तयार हुँदैनन् । पत्रकारको मनोभावना र मनोवृत्तिमा समस्या छ । संविधान, कानुन र श्रम ऐनले तय गरेको बाटोमा जुन दिनसम्म जाने आँट गर्दैनन्, पत्रकारहरुले नियुक्ति, पारिश्रमिक र पेशागत समस्या झेलिरहने छन् ।