कोरोना प्रभाव : गाउँमा तरकारी फालाफाल बजारमा अभाव, मल नपाउँदा किसान मर्कामा

विजयकुमार बौडेल 
चैत १८ – कोरोनाको प्रभाव बढ्न नदिन सरकारले लागु गरेको लकडाउनको कारणले किसान मर्कामा परेका छन् ।

सरकारले गरेको लकडाउन र कृषी सामग्री व्यापारीहरुको त्रासका कारण किसानहरुले सहज रुपमा खेतबारी जोत्न र मल, विउ समेत पाउन नसक्दा मर्कामा परेका हुन् । खेतबारी जोत्नका लागी ट्रयाक्टरले सहज ढंगले डिजेल पाएको अवस्था छैन ।

तानसेन नगरपालिका वडा नं. ९ का खेम बहादुर बौडेलले बर्षभरी खाने आम्दानीको श्रोत टमाटर रोप्ने बेला कुखुराको मल विना नै रोप्नुभयो । “जहाँतहीँ सम्पर्क गर्दा पनी कुखुराको मल पाउन सकिएन । कृषी सामग्रीलाई त अली सहज बनाईदिए पनी हुन्थ्यो ।” बौडेलले भन्नुभयो । “मरियो भने त के हो ? के हो ? बाँचियो भने त बर्षभरी खान पर्ला नी । टाँठाबाठाले त जसोतसो गरेर ल्याएका छन् । हामीले के गर्ने खै ?” स्थानिय तहहरुले किसानका लागी आवश्यक सामग्री ल्याईदिन पहल गर्नुपर्ने बौडेलको भनाई छ ।

यता उत्पादन भईसकेका तरकारी पनी सहज रुपमा बजारमा लैजान नपाँउदा किसान पिडित छन् । संकलन केन्द्रमा ठूला ट्रकहरु लिएर नियमित तरकारी लिन आउने व्यापारीहरु लकडाउनमा परे पछि किसानहरुले गाउँबस्तीमै बोकेर विक्रि गरिरहेका छन् । “सहकारीमा आवद्ध हुनेहरुले त जसरीतसरी विक्रि गरिरहेका छन् । सहकारीमा नहुनेले गाउँघरमै बोकेर बेचेका छन् ।” तानसेन ९ कै मंगल रुचालले भन्नुभयो । “बजारमा हाहाकार छन्, गाउँमा फालाफाल ।” गाउँका तरकारी बजारमा सहज रुपमा लैजान सके सबैलाई फाईदा हुने रुचालको भनाई छ ।

सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि देशभर लकडाउनको प्रत्यक्ष प्रभाव भने पाल्पाका बेमौसमी तरकारी उत्पादन गर्ने कृषकहरुमा परेको छ । लकडाउनले छिटै नष्ट हुने तथा दैनिक अत्यावश्यकीय वस्तुहरू दूध, फलफूल, तरकारीलगायतको आपूर्ति प्रभावित भएको छ ।

बिनाअनुमति ढुवानीका साधनहरू रोकिने भएकाले कृषि उपज आपूर्ति गर्ने निजी साधन चल्न नपाउदा आपूर्तिकर्ता अन्योलमा परेका हुन् । उपभोक्ताले पनि तीन–चार दिन पुग्ने मात्रै स्टक गर्न सक्ने भएकोले थप सहजीकरण नभएमा भने तरकारी तथा फलफुल आपूर्तिमा समस्या आउने प्रेस संगठन पाल्पाका संयोजक राजेन्द्र लिगलले बताउनुभयो ।

जिल्ला सदरमुकाम तिर तरकारीको मूल्य आकासिएको छ । सदरमुकाममा बन्दा, काउली, प्याजलगायत तरकारीको बजार मूल्य अरु बेला भन्दा बढी छ तरपनी सहज रुपमा किन्ने वातावरण नभएको लिगलको भनाई छ ।

केही दिन अघी मात्र रैनादेवी छहराका किसानले विक्रि नभएपछी ६ हजार कुखुरा नष्ट गरेका थिए । किसानले उत्पादन गरेका कृषी उपजको सही व्यवस्थापन र उत्पादनमा प्रोत्साहन गर्न स्थानिय तहका जनप्रतिनिधीले तत्काल सोंच्नुपर्ने सरोकारवालाहरुको भनाई छ ।