कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा तानसेनको प्रयास

गोविन्द भट्टराई

विश्वभर कोरोना भाइरस संक्रमणको कहरका कारण मानव समुदाय त्रसित छ । नेपाल पनि त्यसबाट पर छैन । तीन तहका सरकार क्रियाशील संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा यतिबेला ७६१ सरकारको चासो कोरोनाबाट कसरी नागरिकलाई जोगाउने भन्ने मै केन्द्रित रहेको पाइन्छ । नेपाल सरकार, प्रदेश सरकारहरु र स्थानीय सरकारले नागरिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर गरेका काम प्रक्रिया तथा वैधानिकताका हिसावले समेत कतिपय आलोचनामुक्त हुन नसकेको अवस्था रह्यो । यसै सन्दर्भमा तानसेन नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेका प्रयास तथा गतिविधि अधिकांश नगरबासीले सकारात्मक रुपमा लिएपनि केही टीकाटिप्पणी र गुनासा समेत पढिएका, सुनिएका छन् । यद्यपि गरेका सबै काममा सबैको समर्थन वा विरोध सम्भव हुँदैन तर स्थानीय सरकारका नाताले अधिकतम नगरबासीको मन जित्ने काम नगर सरकारले गर्न सक्नु पर्दछ भन्नेमा तानसेन नगरपालिकाको निर्वाचित नेतृत्व सचेत रहेको पाइन्छ ।

तानसेनले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका सिलसिलामा गरेका विभिन्न काम मध्ये कृषि एम्बुलेन्स, दूर शिक्षा कार्यक्रम, घरदैलौमै पुगेर उपचार गर्ने तथा जेष्ठ नागरिक भत्ता वितरण गर्ने, स्वास्थ्य संस्थालाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । आगामी वर्ष अन्न उत्पादनमा ह्रास नआवस भनेर तानसेन नगरपालिकाले समयमै किसानहरुलाई बीउबिजन उपलव्ध गराएको लगायतका काम अधिक चर्चामा रहेको पाइयो । पाल्पाको सदरमुकाम समेत रहेको तानसेन नगरपालिकाले सम्पन्न गरेका कतिपय कामको सिको छिमेकी पालिका तथा देशका अन्य पालिकाले समेत अनुकरण गरे ।
सीमित साधन स्रोतका भरमा १६११ विपन्न परिवारलाई निशुल्क खाद्यान्न उपलव्ध गराएलगत्तै निम्न मध्यम वर्गका नगरबासीलाई निश्चित सहुलियत मूल्यमा (करिव २५ प्रतिशत मुल्य नगरपाकिलाले व्यहोर्ने गरी) वडा वा पायक पर्ने ठाउँबाट चामल र आटा वितरण गर्ने निर्णय ग¥यो । कार्यपालिका बैठकमा छलफल हुँदा घरमा खाद्यान्न सञ्चित रहेका÷भएका सम्पन्न नगरबासी इज्जतको कारणले पनि सहुलियत मूल्यको सामग्रीका लागि आउने छैनन भन्ने आँकलन गरियो तर परिणाम ठिक उल्टो भयो । कतिपय निम्न मध्यम वर्गीय परिवारले माग गरेन बरु खान पुग्ने, खाद्यान्न सञ्चित भएकाहरुले नाम लेखाएको सुन्नमा आयो । कतिले जिम्मेवार व्यक्ति ले नै कुरा नबुझेर खाद्यान्न किन्न आवश्यक नपर्ने व्यक्तिहरुलाई समेत नाम लेख्न लगाइयो भन्ने गुनासा पनि सुनिए ।

निम्न मध्यम वर्गका करीव ५ हजार परिवारले सुहलियतपूर्ण राहतका लागि नाम लेखाउलान भन्ने आँकलन विपरित नाम धेरै संकलन भएपछि वैशाख १२ गते बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले गम्भीर छलफल पश्चात आवश्यक पर्नेहरु नछुटुन भनेर १४ वडाका ५ हजार ५२ परिवारलाई सहुलियतपूर्ण दरमा खाद्यान्न वितरण गर्ने निर्णय लिएको नगरप्रमुख अशोककुमार शाहीले बताउनु भयो । पैसा बुझाएर फिर्ता लिन परेपछि कतिपयले नगरसरकारलाई सामाजिक सञ्जाल मार्फत् आक्रोश समेत पोखेका छन् । यसबारे नगरप्रमुख शाही भन्नु हुन्छ–जनप्रतिनिधि, कर्मचारी, नगरबासी हामी सबै मिलेर अप्ठेरोमा परेकाहरुलाई बाँच्न मद्दत गर्नु पर्दछ । घरमा अन्न सञ्चित भएकाहरुले यो कुरा आत्मसात गर्नु पर्दछ ।

तानसेनका गतिविधि
नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाका अनुसार २०७६ माघ देखि नै छापा तथा विद्युतिय सञ्चार माध्यमहरुबाट सचेतना सम्वन्धी प्रचार प्रसारका कार्यहरु तानसेन नगरपालिकाले नियमितिरुपमा सञ्चालन गरिआएको छ । जिल्ला प्रहरी कार्यालय समेतको सहयोगमा स्थलगत रुपमा तानसेन नगरपालिकाले सचेतनामूलक फ्लेक्स ब्यानर विभिन्न टोलमा राख्नुका साथै माइकिङ गरिआएको छ । नगरपालिकाको सहयोग तथा नर्सिङ्ग एसोसियसन पाल्पासँगको सहकार्यमा नगरभित्रका शैक्षिक संस्था तथा समुदायस्तरमा कोरोनाबारे सचेतना कार्यक्रम सञ्चालन गरी सूचीत गरियो । मिसन अस्पताल तानसेनका निर्देशक डा रचेल करेचको शव्द सौजन्य तथा नगरपालिकाको पहलमा २ चरणमा कोरोना विरुद्ध सचेतना भिडियो तयार गरी प्रचार प्रसार गरिएको छ । सूचना अधिकारी थापाका अनुसार २०७६ चैत्र पहिलो हप्ता मै तानसेन नगरपालिका र युनाइटेड मिसन अस्पताल तानसेनको संयुक्त आयोजनामा नगर कार्यपालिकाका पदाधिकारीहरु, नगरपालिकाका स्वास्थ्य चौकी प्रमुख, शाखा प्रमुख, वडा सचिवहरुको लागि नोवेल कोरोना भाइरसको बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएको निर्देशिका बमोजिम २०७६ चैत्र ४ गते तानसेन नगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा नगरस्तरीय समन्वय समिति गठन गरी आवश्यक कामलाई तीब्रता दिइएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली राज बेल्बासेले बताउनु भयो । लगत्तै तानसेन नगरपालिकाका सम्पूर्ण वडाहरुमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेवीका, टोल विकास समितिका पदाधिकारी र अन्य सरोकारवालाहरुलाई अभिमुखिकरण गरी निर्देशिका अनुसार सम्पूर्ण वडाहरुमा वडास्तरीय समन्वय समिति गठन गरि आवश्यक समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत बेल्बासेले बताउनु भयो । वडा कार्यालय, स्वास्थ्य चौकीहरुमा हात धुनका लागि बाल्टी, साबुन उपलव्ध गराइएको, नेपाली सेनाको गोरखदल गणको समेत सहयोग लिएर नगरपालिकाले बसपार्क, प्रभास लगायतका स्थानमा बाहिरबाट आएका मानिसहरुको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार नगर कार्यपालिकाका पदाधिकारी र कर्मचारीहरुलाई सेनिटाइजर निर्माण सम्वन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरी आवश्यक ज्ञान सीप प्रदान गरियो र आवश्यक सामग्री जुटाएर चाहिने सेनीटाइजर बनाएर माग अनुसार सरोकारवालाहरुलाई वितरण गरियो ।

तानसेन नगरपालिकाका विभिन्न वडामा बाहिरबाट हालसालै आएका ब्यक्तिहरु प्हिचान गरी स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो । उपप्रमुख लक्ष्मीदेवी पाठक समेत स्वास्थ्यकर्मीसँगसँगै घरघर पुग्नु भएको थियो । त्यतिबेला कतिले आफूलाई त्यसरी घरघरमा नहिड्न सुझाव दिएको उपप्रमुख पाठक सम्झनु हुन्छ । उहाँ भन्नु हुन्छ–नगरबासीलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर हामीले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीलाई घरघरमै पु¥याएका हौं । पहिले त विदेशबाट आएकाहरुको तथ्याङ्कक संकलन ग¥र्यौं अनि बाहिरबाट आएकाहरुलाई घरघरमै पुगेर परीक्षण गर्नुका साथै नगरपालिका भित्रका स्वास्थ्य चौकीहरुमा ज्वरो परीक्षणको कामलाई अगाडि बढायौं । यसैगरी नगर तथा ग्रामीण भेगका विभिन्न स्थानमा किटनाशक औषधि छर्ने काम समेत गरिएको छ । नगरपालिकाले विदेशबाट आएकालाई तत्काल क्वारेन्टाइनमा राख्नका लागि तानसेन–६ स्थित जनप्रिय माबिमा ५० शैयाको क्वारेन्टाइन स्थापना गरेको नगरप्रमुख अशोककुमार शाहीले बताउनु भयो । पटकपटक गरी क्यारेन्टाइनमा २९ जनालाई राखिएको थियो, पछि उनीहरुलाई सम्वन्धित पालिकाको जिम्मा लगाइएको सूचना अधिकारी दुर्गाबहादुर थापाले बताउनुभयो ।

लकडाउनका कारण अप्ठेरोमा परेका मजदुर, श्रमिक लगायत दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने व्यक्तिहरुको लगत तयार गरी दैनिक जीवन निर्वाहको लागि आधारभूत खाद्य सामग्री प्रदान गर्ने व्यवस्था मिलाइ पहिलो चरणमा १६११ परिवारलाई निशुल्क खाद्यान्न राहत सामग्री उपलव्ध गराएको नगरप्रमुख शाहीले बताउनु भयो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण, उपचार र राहत कार्यक्रममा सहयोग पु¥याउन नगरपालिकाको बोर्ड बैठकले तत्काल २५ लाख वजेट ब्यवस्थासहित कोष स्थापना गरेको र थप ५० लाख रकमान्तर गरिएको नगरप्रमुख शाहीले बताउनुभयो । त्यसैगरी उक्त राहत कोषमा तानसेन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले समेत सहयोग जम्मा गरेका छन भने नगरस्थित मनकारी संघसंस्था, केही व्यक्तिहरुले आफूखुसी र नगरपालिकाभित्र रहेका सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुबाट सहयोग जम्मा भएकोे नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरेले बताउनु भयो । सहयोग गर्ने क्रम जारी रहेको भएपनि तानसेनका धनीमानी संस्था र व्यक्तिहरुबाट भने सहयोग जम्मा भएको पाइएन ।

राहत वितरणका लागि आवश्यक मापदण्ड तय गर्नुका साथै तानसेन नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा आइसोलेसन वार्ड स्थापनाको लागि समिति गठन, एकद्वार प्रणालीबाट राहत सामग्री उपलव्ध गराउने कामलाई समेत प्राथमिकता दिएको छ । केन्द्र तथा प्रदेश सरकार र सम्वन्धित निकायहरुसँग आवश्यक समन्वय एवम् सहकार्य गरिएको र नियमित रुपमा आवश्यक सूचना तथा जानकारी आदान प्रदान गरी संञ्चार क्षेत्रलाई समेत सम्प्रेषण गरिएको सूचना अधिकारी दुर्गाबहादुर थापाले बताउनु भयो । लकडाउनका वावजूद फोहर व्यवस्थापनलाई निरन्तरता दिइएको नगरप्रमुख शाहीले बताउनु भयो । यसैगरी लकडाउनको समयमा पनि तानसेन नगरपालिकाले जेष्ठ नागरिकलाई घरघरमै भत्ता उपलव्ध गराउने कामको शुरुवात गरेको नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरेले बताउनु भयो ।

तानसेन नगरपालिकाले गरेका राम्रा काममध्ये दूर शिक्षा रेडियो कार्यक्रम पनि एक हो । तानसेन नगरपालिकाको सहयोगमा सामुदायिक रेडियो मदनपोखराबाट एसइइ परीक्षालाई मध्यनजर गरी दिनको ५ वटा विषयमा तयारी कक्षा सञ्चालन भइरहेको सामुदायिक रेडियो मदन पोखराका स्टेशन प्रवन्धक राजेशकुमार अर्यालले बताउनुभयो । उक्त कार्यक्रम २५ बढी रेडियोबाट बज्ने गरेकोले परीक्षाको तयारीमा रहेका विद्यार्थी लाभान्वित भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनु भयो । यसैगरी तानसेन नगरपालिकाको सहयोगमा युनिक एफ.एम. तानसेनबाट प्लस टु को लागि परीक्षा सहयोगी कक्षाहरु सञ्चालन भएको स्टेशन प्रवन्धक जगदीश भट्टराईले बताउनु भयो । नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवामा खटेका स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ख्याल राख्दै १२५ थान ब्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ) खरिद गरी पाल्पा अस्पताल (१० थान), मिसन अस्पताल तानसेन (४० थान), लुम्विनी मेडिकल कलेज प्रभास (४० थान), पाल्पा लायन्स लाकौल आँखा अस्पताल (५ थान) लाई उपलव्ध गराएको नगरप्रमुख शाहीले बताउनु भयो । मिसन अस्पतालसंगको सहकार्यमा बृद्धाआश्रममा आइसोलेसन बेड सञ्चालन तथा विभिन्न ठाउँमा रहेका क्वारेन्टाइन निसंक्रमणको काममा समेत तानसेन नगरपालिकाले चासो देखाएको पाइन्छ । आवश्यक भएमा क्वारेटाइन निसंक्रमणका लागि अन्य पालिकालाई समेत सहयोग गर्न सकिने सहमति नग।पालिका र मिसन अस्पतालबीच भएको नगरप्रमुख शाहीले प्रष्ट पार्नु भयो । यसैगरी अस्पताल तथा जोखिमपूर्ण स्थलमा रिपोर्टिङमा खटने पत्रकारहरुका लागि उपयोग गर्न भनेर नेपाल पत्रकार महासंघ पाल्पा (३ थान, मास्क ४० थान र सेनीटाइजर २ लि.समेत) लाई समेत ब्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

तानसेन नगरपालिकाले कृषि कर्मलाई महत्व दिदै किसानहरुलाई बीउ, औजार र मलखाद उपलव्ध गराउने निर्णय गरेको नगरप्रमुख शाहीले बताउनु भयो । शाहीले किसानले उत्पादन गरेको गहुँ सरकारले तोकेको समर्थन मूल्यमा तानसेन नगरपालिकाले खरिद गरिदिने निर्णय समेत गरेको बताउनु भयो । शाहीकाअनुसार उपप्रमुख पाठकको संयोकत्वमा मकैको बीउ ५० प्रतिशत अनुदानमा टोलटोलमै उपलव्ध गराइयो भने धानको बीउका लागि काम हुँदैछ । नगरपालिकाले नेपालमै पहिलो पटक मदनपोखरा संगम कृषि सहकारी संस्थासँगको समन्वयमा तानसेन नगर युवा परिषद् मार्फत कृषि एम्बुलेन्स सेवा सञ्चालन गरी मदनपोखरा, अर्गली लगायतका ठाउँबाट किसानको तराकारी नगरवासीको घरटोलमा वितरण गरेको परिषदका अध्यक्ष गुराँस आत्रेयले बताउनु भयो । अध्यक्ष आत्रेयका अनुसार युवामा उद्यमशीलता र सेवाभाव बढाउन तानसेन नगरपालिकाले विभिन्न रचनात्मक काम गरेको छ ।

लेखक भट्टराई स्वतन्त्र पत्रकार हुनुहुन्छ ।