विजयकुमार बौडेल
चैत १७ – कोरोना संक्रमणको जोखिम कम गर्न स्थानिय तहले भारतलगाएत विदेशबाट आएका नागरिकहरुलाई क्वारेन्टाईनमा बस्न गरेको आग्रहलाई अटेरी गरेका छन् ।
भारत लगाएत विभिन्न देशबाट आएका नागरिकहरु अनिवार्य रुपमा १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने भएपनी उनीहरुले अटेरी गरेका छन् । स्थानिय तहका जनप्रतिनिधीहरुले लगत संकलनको कार्य जारी राखेका छन् तर उनीहरुलाई क्वारेन्टाईनमा बस्न लगाउन सकेका छैनन् । नागरिकहरु सेल्फ क्वारेन्टाईनमा पनी बसेका छैनन् । विदेशबाट आएका नागरिकहरु भोजभतेर गर्दै हिँडेका छन्, भेला भएका छन्, खुलेआम समाजमा हिँडेका छन् ।
तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष हरिसुमर रेग्मीले विदेशबाट आएका नागरिकहरु लुक्लै हिँडेको बताउनुभयो । “विदेशबाट आएकाहरु स्थानिय तहका जनप्रतिनिधी खोज्दै जाँदा गाउँमै लुक्ने, भाग्ने गर्नुहुन्छ ।” वडाध्यक्ष रेग्मीले भन्नुभयो । “आफ्नो लागी मात्र नभई परिवार र समाजकै लागी क्वारेन्टाईनमा बस्नुपर्छ भन्ने बुझाउन सकिएन कि बुझ्नुभएन खै । कोरोना भाईरस लागेका मात्र क्वारेन्टाईनमा बस्ने होईन ।”
संभावित जोखिम कम गर्न निगरानीमा बस्नुपर्ने भन्दै जनप्रतिनिधीको सम्पर्कमा आउन वडाध्यक्ष रेग्मीले अनुरोध गर्नुभयो । तानसेन नगरपालिका वडा नं. ९ मा अहिले सम्म १२ जनामात्र सम्पर्कमा आएको वडा कार्यालयले जनाएको छ ।