गिद्ध संरक्षणका लागि अँधेरी छर्छरेकाे अभियान

दमकडा । अँधेरी छर्छरे सामुदायिक वन उपभोक्ता समुह तानसेन ९ दमकडाले समूहभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

उपभोक्ता समूहले ८४ वर्ष उमेर पार गरेका, जैविक विविधता संरक्षणमा सहयोगी बनेका १० जना ज्येष्ठ नागरिकलाई १३ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसर पारेर सम्मान गरेको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले ज्येष्ठ नागरिकका अनुभव, सीप र क्षमताले जैविक विविधताको संरक्षण, प्राकृतिक सन्तुलन कायम भएको बताउँदै पछिल्लो पुस्ताले त्यो ज्ञान लिनुपर्नेमा जोड दिनुभयो । उहाँले गिद्ध संरक्षण र पर्यापर्यटनको विकास सँगसँगै गर्नुपर्छ भन्ुनभयो । नगरपालिका प्रमुख शाहीले प्रकृतिको कुचीकार गिद्धले वातावरण स्वच्छ राख्न खेलेको भूमिका संझिदा यस्को संरक्षणमा सबैको चासो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत उपेन्द्र अर्यालले वासस्थानको विनास, आहाराको अभाव र डाइक्लोफेनेक औषधीको दूरुपयोगका कारण गिद्धहरु लोपोन्मुख हुने अवस्थामा पुगेकाले संरक्षणका लागि जनसहभागिताको खाँचो रहेको बताउनुभयो । अँधेरी छर्छरे सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष दिनेश बस्यालले पंक्षी संरक्षण संघको सहयोगमा गिद्ध संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । ज्येष्ठ नागरिक मैत्री न्यानो शीतल घर निर्माण उपभोक्ता समितिका अध्यक्ष मिनप्रसाद बन्जाडेले ज्येष्ठ नागरिक सामाजिक ज्ञानका भण्डार भएकाले उहाँहरुको सम्मानले सामाजिक संस्कार सुदृढ हुने विचार व्यक्त गर्नुभयो । नेपाली काँग्रेस गाउँ इकाईका सभापति पुर्षोत्तम अर्यालले ज्येष्ठ नागरिकको सम्मानले स्वाभिमान बढ्ने बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई हर्लिक्स र च्वनप्रास प्रदान गरिएको छ । सम्मान ग्रहण गरेपछि खुशी हुनुभएका ९५ वर्षिय वेनिराम ढकालले विगतमा खागोको टोकाई र रोगलाई जितेको प्रसंग निकाल्दै भन्नुभयो, यो सम्मानले आयू थपिएको छ । दुर्गालाल भट्टराइ, लक्ष्मीपति बस्याललगायतले गिद्ध धार्मिक रूपले पनि सीता हरणका बेला सहयाेगी पंक्षी रहेकाे बताउनुभयाे ।

अँधेरी छर्छरे सामुदायिक वनको ठूलो सिमलमा गिद्धका दशौं गुँडहरु रहेका थिए । नेपालमा पाइने र संकटापन्न अवस्थामा पुगेका डंगर र सानो खैरो गिद्ध यहाँ देखिन्थे । गिद्ध संरक्षणका लागि वन समूले सचेतना कार्यक्रम, वासस्थानको संरक्षण, आहारा व्यवस्थापनलगायतका कार्यक्रम गर्दै आएको छ । गिद्ध सचेतना दिवसकै अवसरमा सामुदायिक रेडियो मदनपोखराले परिसंवाद कार्यक्रमसमेत आयोजना गरेको थियो ।