घरआँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाउन सुरु भएको छ ।

प्रायजसो करेसाबारी र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाउन सुरु भएको छ । विभिन्न कार्यक्रम र उत्सवमा फूल मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलको खेति सुरु हुन थालेको हो ।

पाल्पाको तानसेन नगरपालिका वडा नं. ७,८ र १० मा अहिले व्यावसायिक रुपमा फुल खेति गरिएको छ । तानसेन ८ का धुर्व भण्डारीले गतवर्षबाट व्यवसायिक रुपमा फूलखेती सुरू गर्नुभएको छ । फूलखेतीमा भण्डारीले एक लाख भन्दा धेरै लगानी गरिसक्नुभएको छ । अहिले एउटा मालाको मूल्य फूलको साइजअनुसार सय रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्म कायम गरिएको छ । ‘उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन । आगामी वर्ष फूलखेती विस्तार गर्ने योजना छ ।’ भण्डारीले भने । सयपत्री फूल ढकमक्क फूलेका छन् । त्यसैले आज माहुरी र पुतली मात्रै होइन, त्यसको सुन्दरताले धेरैलाई लोभ्याउने गरेको छ । तिहार नजिकिएसँगै फूल खरिद, फूलको बगैँचा हेर्न, फोटो÷भिडियो खिच्न र टिकटक बनाउन आउने युवायुवतीको संख्या दैनिक बढ्दो छ । ‘अरु खेतीमा भन्दा फूलमा राम्रो आम्दानी हुँदो रहेछ त्यसैले अहिले पाल्पाका अन्य ठाउँमा पनि व्यवसायिक फूल खेती हुन थालेको छ ।’  अहिले एक किलो फूलको मूल्य ५ सय रुपैयाँ कायम गरिएको छ । ‘विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल स्थानीय बजारमै खपत गर्ने योजना छ भन्नुभयो।

प्रत्येक वर्ष विदेशबाट आयात हुने लाखौँ मूल्य बराबरको प्लाष्टिकका माला र खादालाई विस्थापन गर्दै फूल खेतीलाई व्यावसायिक बनाउनुपर्ने उहाको भनाइ छ । तानसेन नगरपालिका वडा नं.१० तेल्घाका राम बहादुर कुमालले पनि ब्यवसायी फुलखेतीको सुरुवात गर्नुभएको छ । उहाँले बजारमा चाडपर्वको बेला कृत्रिम रबरका फुल तथा मालाले बजार कायम गरिरहेको अवस्थामा त्यस्ता फुललाई निरुत्साहित गर्न व्यवसायीक रुपमा फुल खेती गरेको बताउनुभयो । उहाँले फुलकै लागि लाखौँ पैसा बाहिर गईरहेको समयमा आफुले उत्पादन गरेको फुलहरुले बाहिरबाट भित्रिने कृत्रिम फुलमा आयत कमि हुने बताउनुभयो । पहिलो पटक ७ हजार सयपत्रीका बोटहरु रोपेकोमा अहिले ६ हजार जति बोटहरु रहेको कुमालले बताउनुभयो ।

  ८० हजारको लागतमा ६ रोपनी क्षेत्रफलमा फुलखेती गर्दै आउनुभएको छ। उत्पादन भएका फुलहरु पाल्पामा मात्र नभई बाहिर जिल्लामा पनि निर्यात गरेको उहाँको भनाई छ । पछिल्लो समय स्वदेशमा आफ्ना खेतबारी बाँझै राखेर विदेशीने युवायुवतीको संख्या ठूलो छ । जग्गा प्लटिङ गरिएको ठाउँमा र घडेरी किनेर बाँझै राख्नुभन्दा त्यो ठाउँमा ९० दिनमा तयार हुने फूलखेती गर्न सके त्यसबाट राम्रो फाइदा लिन सकिनेछ । यदि त्यसो हुन सकेको खण्डमा विदेशबाट हुने फूल आयात घट्ने देखिन्छ। अहिले पाल्पाको तानसेन,रामपुर, पुर्वखोला, बगनासकाली,रम्भा र माथागढीमा फूलखेती व्यवसाय खेति गरिएको छ ।नेपाल कृषि प्रदान देश भनिएता पनि स्थानिय सरकारले कुनै चासो दिन् नसकेको कृषकको गुनासो रहेको छ ।