
विजयकुमार बौडेल –
माघ १६ – बगनासकाली गाउँपालिका वडा नं. ९ लाङडाँडाको चौपारीको पिपल गैरकानुनी रुपमा काटीएको र चौपारी जिर्ण बनाएको भन्दै चौतर्फी आलोचना भएको छ ।
कुनै एक व्यक्तिको घडेरी बनाउने कामको सहजताको लागी वडाध्यक्ष ठानेश्वर तिमिल्सेनाले गैरकानुनी रुपमा पिपलको बोट काट्ने निर्णय गरेको भन्दै चौतर्फी आलोचना भएको हो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले वडाध्यक्षले हाँगा काट्न निवेदन आएको भनेकाले मौखिक रुपमा वन संग समन्वय गरेर काम गर्न भनेको बताउनुभयो । अध्यक्ष बस्यालले त्यहाँ घडेरी खन्दै गरेको भन्ने थाहा पाएको बताउनुभयो । वडामा निवेदन आएको नआएको यकिन भने थाहा नभएको अध्यक्ष बस्यालले बताउनुभयो ।

वडाध्यक्ष ठानेश्वर तिमिल्सेनाले बटुवालाई असर गरेको भनेर रुख काट्ने निर्णय गरेको भनेपनी स्थानियले भने पिपलको कुनै पनि हाँगाले बटुवालाई असर नगरेको बताएका छन् । स्थानियले बुद्ध बहादुर थापाले घर बनाउन घडेरी खनिरहेको र घर बनाउन अप्ठेरो हुने ठानेर वडाध्यक्ष संगको मिलेमतोमा रुख काट्ने सेटिङ मिलाएको बताएका छन् । वडाको निर्णयमा यात्रुलाई खतरा भएको र हाँगा काट्न बस्तीस्तरबाट निवेदन आएकोले रुखका हाँगा काट्ने र त्यसको जानकारी डिभिजन वन कार्यालय पाल्पामा पठाउने निर्णय गरिएको छ । रुख काट्दा झरेका हाँगा विगाको कारणले यो बर्ष नै ओटासिल भएको बाटो समेत भत्किएको छ ।
वडाध्यक्ष तिमिल्सेनाले बाटो बनाउँदा एकातिर बाट खनेर रुख ढली जनधनको क्षती हुने अवस्था आएकाले काट्नुपरेको बताउनुभयो । अध्यक्ष तिमिल्सेनाले वन बाट २ मिटर पर पर्ने रुख काट्न २५ घरले हस्ताक्षर गरेर माग गरेकाले रुख काटिएको बताउनुभयो । अध्यक्ष तिमिल्सेनाले अधिकार भन्दा एक ईन्च पनी बाहिर गएर काम नगरेको भन्दै सुनियोजित रुपमा भ्रम फैलाएको बताउनुभयो ।
रुखमुनी घर बनाउने भनेर घडेरी सम्याईरहेका बुद्ध बहादुर थापाले भने व्यक्तिगत र सामुहिक रुपको रुख काट्ने निवेदन वडा कार्यालयमै गएर दिएको बताउनुभयो । वडा कार्यालयमा निवेदन दिँदा वडाध्यक्ष र आफु मात्र भएको थापाले बताउनुभयो । स्थानियले भने चौतर्फी आलोचना भएपछी पहिलेकै मिति राखेर फर्जी निवेदन तयार गरेको बताएका छन् ।
सहायक बन अधिकृत माधुरी खड्काले स्थलगत अनुगमन गरेपछी एउटा मात्रै हाँगा काट्ने कुरा भएको बताउनुभएको छ । खड्काले आफुलाई झुक्याएको बताउँदै वडा कार्यालयलाई वन कार्यालयले रुख नै काट्ने अधिकार नदिईएको बताउनुभयो ।
वन ऐन दफा ३७ मा अत्यावश्यक भएको अवस्थामा यस्ता सार्वजनिक स्थानका रुख कटान छटान गर्न स्थानीय तहलाई अधिकार दिएपनी उपदफा ३ मा कार्यबिधि बनाएर मात्रै सार्वजनिक स्थानका काट्न पाउने भनेको छ । तर रुखका हाँगा काट्ने सम्बन्धि कार्यविधि भने अहिले सम्म नबनाएको गाउँपालिका अध्यक्ष बस्यालले बताउनुभयो ।
कार्यबिधि नै नबनाई रुख काट्नु गैरकानुनी भएको जानकारहरुले बताएका छन् ।
फाेटाे : palpasamachar.com