विजयकुमार बौडेल –
बैशाख १३ – विभिन्न प्रकारका च्याउ तथा परिकारको उत्पादन तथा प्रर्वधन गर्दै आउनुभएका तानसेन ८ का केशव कार्कीले च्याउकै मस्यौरा र सिन्की उत्पादन सुरु गर्नुभएको छ ।
कार्कीले च्याउको उत्पादन धेरै भएको र लकडाउनका कारण च्याउ विक्रि सहज रुपमा नभएका कारण च्याउको मस्यौरा र सिन्की उत्पादन सुरु गर्नुभएको हो । च्याउको विक्रि गर्न समस्या नभए पनी कोरोना भाईरस संक्रमणको जोखिमका कारण बाहिरका बजारमा खासै नपठाएको काकीृले बताउनुभयो ।
विभिन्न प्रकारका च्याउलाई फरक फरक स्थानमा फरक फरक तरिकाले परिक्षण गरि उत्पादन गर्न लागीपर्ने कार्कीलाई धेरैले “च्याउ केशव” भनेरै चिन्ने गर्दछन् । कहिले काठका मुढामा, कहिले परालमा त कहिले पोखरीको पानीमा डुवाएर उत्पादन परिक्षण गरिरहने कार्कीले अहिले च्याउको मस्यौरा र सिन्की उत्पादन परिक्षण गर्नुभएको छ ।
आमा लक्ष्मीकुमारी कार्कीको रचनात्मक आईडियाले च्याउको मस्यौरा र च्याउ उत्पादन गर्न लागेको कार्कीले बताउनुभयो । च्याउका विभिन्न परिकारहरु बनाएपनी अहिले सम्म मस्यौरा र सिन्की नबनाएको भन्दै परिक्षण उत्पादन गरेको र सुप बनाएर खाँदा निकै स्वादिलो भएको कार्कीले बताउनुभयो । घरको छतमा च्याउको मस्यौरा र सिन्की चलाउँदै सुकाउँदै गर्नुभएकी लक्ष्मीकुमारी कार्कीले पहिलो पटक गर्न सुरु गरिएको यो उत्पादनले सबैको मन जित्ने बताउनुभयो ।
अन्य कुराहरुको सिन्की र मस्यौरा भन्दा च्याउको बनाउँदा स्वास्थ्यलाई धेरै फाईदा हुने उहाँले बताउनुभयो । “हामीले घरमा बनाएर खाईसक्यौं, निकै स्वादिलो हुँदो रहेछ ।” कार्कीले भन्नुभयो । “स्वाद संगै च्याउको मस्यौरा र सिन्कीको सुपले शरिरमा फुर्ती र स्वच्छ मुटु बनाउन सहयोग पुर्याउँछ ।” विभिन्न प्रकारका च्याउ र यसका परिकार उत्पादन गरेर सबैलाई यसको महत्व बुझाउन छोरा लागेकोमा आमा लक्ष्मीकुमारी कार्कीलाई गर्व महसुस हुन्छ ।
आफ्नो जिवनमा धेरैखाले काम गरेको अनुभव भएपनी च्याउ र यसका परिकार प्रवर्धन गर्न थालेपछी सन्तुष्ट भएको काकीृको भनाई छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमणका कारण सरकारले लकडाउन गरेपछी उत्पादित च्याउको मस्यौरा र सिन्की बनाउन सुरु गरेको कार्कीले बताउनुभयो ।
भैरव दर्शन च्याउ उद्योग सञ्चालन गर्दै आउनुभएका कार्कीले लकडाउनभरी उत्पादन गरेर राख्ने र त्यसलगत्तै बजारमा च्याउको मस्यौरा र सिन्की पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।