छिसखाेला पुलकाे डिजाइन गलल हुँदा खेतमा खाेलाे साेझियाे


माडीफाँट । बगनासकाली गाउँपालिका १ छिसखोला माडीफाँटमा बनेको पक्की पुलका कारण खेतीयोग्य जमिन पुरिएको किसानहरुले गुनासो गरेका छन् ।

छिसखोलामा बनेको ह्युमपाइपसहितको पक्की पुलले बगर छेकेपछि खोलो खेतबाट बगेको छ । दमकडा र पोखराथोक सडक खण्डअन्तर्गत छिसखोलामा बाह्रै महिना सवारी साधन आवतजात गर्न र पैदलयात्रीहरु तर्न सजिलो होस् भनेर बनाइएको हो ।

अन्नको भण्डारका रुपमा परिचित माडीफाँटको सयौं रोपनी खेतमा बाढी पसेर रोपेको धानमा क्षति पु¥याएपछि किसानहरु आक्रोसित भएका हुन् । पुलको डिजाइन इष्टमेट गलत भएका कारण खोला खेतबाट हिंडेको छ । कृषक चिन्तामणि पंगेनीले डिजाइन फेल भएको पुल नभत्काउँदासम्म खेती स्याहार्न नपाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षात्मा बाढी आउने छिस खोलामा लाखौं रुपैया खर्च गरेको बनाइएको यो संरचना पूर्ण रुपमा गलत छ । खोला आफ्नै ठाउँबाट बग्नका लागि यो पुल भत्काउनुपर्छ ।’

बगनासकाली गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको समपुरक योजनाबाट करिव ५० लाखको लागतमा यो पुल निर्माण भएको हो । विगतमा तिनामा निर्मित ह्युमपाइपवाला पुलले यस्तै दुःख दिएर भत्काएर अर्को ठूलो पुल निर्माण गरिएको छ । तानसेन ९ दमकडाका शिवप्रसाद भुसालले प्राविधिकले पुल, कल्भर्ट र ह्युमपाइप पुल तीन वटा देखाएकोमा आफूहरुले ह्युमपाइप नराख्न सुझाव दिएको बताउनुभयो । माडीमा बगर हिंड्ने खोलामा यस्तो ह्युमपाइप राखेर यो दुर्दशा भएको उहाँको भनाई छ ।

तानसेन ९ बेलगैराकी भवानी गौतमले खोलाको नक्सा सानो भएकाले आफ्नो लालपूर्जाभित्रको जग्गामा पुल बनाउन दिए वापत गाउँपालिकाले खोलो सोझ्याइदिएको बताउनुभयो । खोलाले ल्याएको बगरले ह्युमपाइप थुनिएर पुल कचवे बन्ने गौतमको भनाई छ । डिजाइन फेल हुँदा माडीफाँटको खौरुहवाका धेरै खेत डुवानमा परेका छन् । किसानको खेती नै पुरिएको छ ।

छिसखोला पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मथुरा ढकालले यसपालीको वर्षा, खोलामा डोजर लगाएर गिट्टी वालुवा झिक्ने र लेकतिर मोटरबाटो खन्ने काम एकैपटक भएकाले समस्या आएको बताउनुभयो । डिजाइन बनाउदा अलिकता प्राविधिक रुपले कमजोरी भएको स्वीकार गर्दै उहाँले सुधार गर्न नसकिने होइन भन्नुभयो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले पुलको माथि दुबैतर्फ जाली लगाउने र बीचको ४÷५ वटा ह्युमपाइप झिकेर कल्भर्ट बनाउन सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।