झुम्सा । तिनाउ गाउँपालिका ३ झुम्सामा रहेको जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडले तितेपातीको तेल उत्पादन गर्न सुरु गरेको छ ।
प्रदेशसभा सदस्य बसन्त घर्ती मगर र नारायणप्रसाद आचार्यले तिनाउको झुम्सामा रहेको सहकारीको कारखानामा दीप प्रज्वोलन गरी तेल पेल्ने कार्यको शुभारम्भ गर्नुभयो । सहकारी संस्थाका अध्यक्ष झपेन्द्र जीसीले मंगलाचरणको मन्त्रोच्चारण गर्दा प्रदेशसभा सदस्यद्वय घर्ती र जीसी, गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न तितेपातीको तेल उत्पादनले ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
गाउँमा खेर गइरहेको तितेपातीलाई प्रशोधन गरी तेल निकाल्ने योजना रहेको सहकारी संस्थाका अध्यक्ष झपेन्द्रबहादुर जीसीले बताउनुभयो । सहकारीले एक किलोग्राम तितेपातीलाई ८ रुपैँया मूल्य दिएको छ । तिनाउ आसपासका स्थानीय समुदायले खेर गइरहेको तितेपातीलाई काट्ने, बोक्ने, ढुवानी खर्च घटाउँदा एक दिनमा ३ हजार रुपैँयासम्म आम्दानी भएको बताएका छन् । एक लिटर तितेपातीको तेललाई कम्तिमा १० हजार रुपैँया पर्दछ । पाँच क्वीन्टल तितेपाती एक घान लगाएर पेल्दा १ लिटर तेल निस्कन्छ ।
तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले दालचिनी, अदुवा, बेसारको तेल निकाल्ने हो भने यस क्षेत्रका समुदाय सम्पन्न हुने बताउनुभयो । सहकारीले दाउरा बालेर पानी तताई बाफले तितेपातीको तेल निकाल्ने गर्दछ । अध्यक्ष जीसीले यसले स्थानीय समुदायलाई रोजगारीका अवसर दिने भएकाले राज्यले नयाँ प्रविधिको मेशिन किन्न सहयोग गर्नुपर्ने बताउनुभयो । यो पुरानो प्रविधि हो । नयाँ प्रविधिको मेशिनका लागि करिव ५० लाख पर्दछ ।
जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेड २०५६ सालमा स्थापना भएको हो । सहकारीमा हाल १६५ शेयर सदस्य रहेका छन् ।