जिल्लाका किसानको तरकारी फालाफाल, बाह्य जिल्लाको तरकारी आयात खुला


विजयकुमार बौडेल – 
वैशाख १७ – पाल्पामा बाह्य जिल्लाको तरकारी आयातमा रोक लगाएपछी जिल्ला भित्रैको तरकारी सुरक्षित हुँदाहुँदै फेरी प्रशासनले आयात खोल्दा नागरिकले जोखिम बढेको महसुस गरेका छन् ।

किसानकै मुल्यमा तरकारी पाउँदा नागरिक खुसी भएपनी जिल्ला प्रशासन कार्यालयले व्यापारीहरुको दवावमा जिल्ला बाहिरका तरकारी आयात खुला गरेपछी नागरिकहरुले जोखिम महसुस गरेका हुन् । कोरोना भाईरस संक्रमणको जोखिमका कारण केही समय अघि जिल्ला बाहिरको तरकारी रोक लगाएपछी तानसेनमा पाल्पाकै ग्रामिण क्षेत्रका तरकारीले बजार पाउन थालेको थियो ।

तानसेन ८ का एक किसानले भन्नुभयो “हाम्रा बारीका तरकारी नबिकेर हैरान छ, अव उत्पादन हुने तरकारी कहाँ बेच्ने हो ठेगान छैन । प्रशाशनले बाहिरी जिल्लाबाट ल्याउन खुला गरेछ । यहीँको उत्पादनलाई प्राथमिकता दिए त जोखिम पनी कम हुन्थ्यो नी । खै, हाम्रो कुरा कस्ले सुन्ला र ?”

नागरिकहरु पनी जिल्ला भित्रैका ग्रामिण क्षेत्रका तरकारी प्रयोग गर्न पाउँदा खुसी थिए । यसैविच माथागढी बहुउद्देश्यीय सहकारी संस्था चिदीपानीले गाउँका काफल, कांक्रा, गाभा, भुटुक, सिब्लीगान, गोलेभेडा, धनिया लगायत स्थानीय जातका अर्गानिक उत्पादन तानसेन ल्याएपछी उपभोक्ताहरुले हारालुछ भएको छ ।

जिल्ला बाहिरको तरकारीमा कोरोना संक्रमणको जोखिम हुने भएकाले उपभोक्ताहरु जिल्ला भित्रैको तरकारी खरिदमा हारालुछ भएको हो । संस्थाले स्थानीय किसानहरुले उत्पादन गरेका उत्पादनहरु खरिद गरि सस्तोमा बिक्री गरेको छ । तानसेनका शान्ति बस्यालले गाउँका तरकारी अर्गानिक पनी हुने र बाह्य जिल्ला बाट आउने तरकारीमा जस्तो जोखिम पनी नहुने भएकाले जसरी हुन्छ जिल्ला भित्रैको उत्पादन किन्न लालायित भएको बताउनुभयो ।

“प्रशासनले बाह्य जिल्लाबाट आउने तरकारी आयातमा रोक लगाएकै ठिक थियो । यस्तो कोरोना संक्रमणको बेला जोखिम हुने बिषयमा अहिले आत्तिएर खोल्नुपर्ने अवस्था नै थिएन ।” बस्यालले भन्नुभयो । “स्थानिय क्षेत्रका जुनसुकै उत्पादनले बजार पाएको थियो, जिल्ला भित्रैका किसानका उत्पादनले प्राथमिकता र मुल्य पाएका थिए । बाह्य जिल्लाबाट तरकारी आयात खुला गर्नु गलत नै भएको हो । उपभोक्ता बाहिरबाट आएको तरकारी नभई मर्ने अवस्था आईसकेको थिएन ।”

प्रशाशनको निर्णयले तानसेन नगर यूवा परिषद र माथागढी सहकारीकोे निश्वार्थ र सहज रुपमा तरकारी उपलब्ध गराउने कार्य निरुत्साहित भएको बस्यालको भनाई छ । जिल्लाको उत्पादनलाई निरुत्साहित गरेको भन्दै तानसेन यूवा परिषदले निरन्तर रुपमा गरेको सेवामा रोक लगाएको परिषद अध्यक्ष गुरास आत्रेयले बताउनुभयो ।

माथागढी सहकारी संस्था लिमिटेडले भने ग्रामिण क्षेत्रका घर घरमा उत्पादित अर्गानिक उत्पादन बजार पर्याईरहेको संस्थाका अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । सहकारीका धेरै किसानहरुका उत्पादन खेर गएको अवस्थामा सहकारीले बिक्रि गरिदिने योजना ल्याएको पन्थीको भनाई छ ।

जिल्ला भित्रै पर्याप्त तरकारी हुँदाहुँदै प्रशासनले यहाँका किसानलाई वेवास्ता गरि व्यापारीहरुको दवावमा बाह्य जिल्लाको तरकारी आयात खुला गर्नु जोखिमका हिसाबले गलत भएको सरोकारवालाहरुको भनाई छ ।