तानसेन । पाल्पाकाे जिल्ला सदरमुकामस्थित तानसेन नगरपालिकाको नवौँ नगरसभा आरम्भ भएको छ ।
असार १० गते सुरू भएकाे नगरसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम र बजेट पेश भएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कोरोना महामारी नियन्त्रण र नगरको विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट, नीति तथा कार्यक्रम पेश गर्नुभयाे । सुव्यवस्थित पूर्वाधार, पहिचानमुलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय समावेशी सांस्कृतिक नगरको नारा सहित आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएकाे नगरपालिका प्रमुख शाहीले बताउनुभयो ।
तानसेन नगरपालिकाकाले काेभिड १९ काे राेकथाम, उपचार र नियन्त्रणका लागि स्थायी आइसोलेसन सेन्टर निर्माण गर्ने, अक्सिजन व्यवस्थापन, पूर्वाधारयुक्त सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन, सम्पूर्ण नगरबासीकाे खाेपकाे सुनिश्चितता गर्ने जस्ता कार्यक्रम ल्याएकाे छ । विगतदेखि दलित, सरसफाइकर्मीकाे निशुल्क स्वास्थ्य विमा गरिदिएकाे नगरपालिकाले आगामी वर्ष अति गरिब र पालिकाभित्रका कर्मचारीको स्वास्थ्य विमा गरिदिने योजना पनि ल्याएकाे छ । विद्यालयहरुलाई कार्यसम्पादनको आधारमा अनुदान दिने, छोरी शिक्षा कार्यक्रमलाई निरन्तरता दिने, दरबन्दी नभएका विद्यालयमा शिक्षक अनुदान दिने नगरसभामा प्रस्तुत नीति बजेट तथा कार्यक्रममा समावेश गरिएको छ ।
तानसेन नगरलाई मासु, अण्डा, दुध र तरकारीमा आत्मनिर्भर, एक वडा एक कृषि प्राविधिकको व्यवस्था, दुधको प्रशोधन, बजारिकरण र बिउबीजनलाई सहयोगलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । युवालाई स्वरोजगार तथा उद्यमी बनाउन नगरपालिकाकाे जमानीमा ५० लाखसम्म विनाधितो कर्जा उपलब्ध गराउने, सहकारी संस्थाहरुसँग सहकार्य गरेर रोजगारी सिर्जना गर्ने, विभिन्न संघसंस्थासँगको सहकार्यमा कृषि तथा उद्यमशिता विकासमा लगानी बढाउने योजना नगरपालिकाको रहेको छ ।
नीति तथा कार्यक्रममा खेतीयोग्य जमिनमा घरघडेरी निर्माण कार्यलाई निरुत्साहित गर्ने र त्यस्ताे जग्गामा घरघडेरी बनाए राजश्वकाे दर उच्च बनाउने, सुपथ मूल्य पसल सञ्चालन गर्ने, भूमिक वैंक स्थापना गर्ने, कुन्सरेमा उद्याेगग्राम निर्माण गर्नेलगायतका कार्यक्रम समावेशन छन् । श्रीनगरमा बिग बुद्ध पार्ककाे विस्तृत परियाेजना प्रतिवेदन वमाेजिम निर्माण अघि बढाउने, प्रभास ताल व्यवस्थापन, अर्गली दरबारकाे जग्गा व्यवस्थापन, हृषिकेश मन्दिर क्षेत्रकाे जग्गा अधिग्रहण गर्ने, टक्सार खुला संग्राहलय सञ्चालनमा ध्यान दिने, माण्डव्य सराेवर, काेकलदेवी, रतनपाँडे समाधिस्थलकाे विकासमा विभिन्न निकायसँग साझेदारी गर्ने उल्लेख छ । विपी साहित्य प्रतिष्ठान निर्माण, पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कारकाे कोषकाे रकम बृद्धि, कविवर माधवप्रसाद देवकोटाको शालिक निर्माणलगायतका कार्यक्रम पेश भएका छन्।
नगरपालिकाले एक वडा एक किलोमिटर पक्की सडक निर्माण अभियानलाई तिव्रता दिने, तानसेनको वनदेवीमा बसपार्क निर्माणलाई तत्काल अगाडि बढाउने, सिद्धार्थ आर्थिक कोरिडोरमार्फत बहुपक्षीय साझेदारहरुसँग सहकार्य गरिने छ । नगरको पर्यटन प्रबद्र्धन गर्न हाइवे रिफ्रेसमेन्ट सेन्टर फोहोरमैला व्यवस्थापन र रानीमहल सञ्चालन तथा व्यवस्थापनमा सार्वजनिक नीजि साझेदारी कार्यक्रममार्फत् अगाडि बढाइने उल्लेख छ ।
नगरपालिकाले पाल्पाका संचार क्षेत्रलाई कार्यसम्पादनका आधारमा सहयोग दिने, हाम्रो तानसेन बुलेटिन प्रकाशनलाई निरन्तरता दिने, सूचनाको हक सम्बन्धी क्षमता विकास गर्ने, जनताका समस्या र गुनासो हल गर्न जनतासँग मेयर कार्यक्रमलाई निरन्तरता दिने सभामा पेश भएको कार्यक्रममा उल्लेख छ । दमकडामा निर्माणाधिन ज्येष्ठ नागरिक मैत्री न्यानाे शीतल घर सञ्चालनमा ल्याउने नगरपालिका प्रमुख शाहीले पेश गरेकाे नीति तथा कार्यक्रममा समावेश छ ।
आगामी वर्षको बजेट १ अर्व २८ कराेड
तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले नगरसभामा आगामी वर्षका लागि १ अर्ब २८ करोड ७० लाख बराबरको बजेट प्रस्ताव गर्नुभयाे । विनियाेजन विधेयक २०७८ प्रस्तुत गर्दै उपप्रमुख पाठकले १ अर्व २८ कराेड ७० लाख २३ हजार ९ सय ७४ रूपैँयाकाे बजेट पेश गर्नुभयाे । चालुतर्फ ५८ प्रतिशत र पूँजीगत तर्फ ४२ प्रतिशत खर्चकाे प्रस्ताव गरिएकाे नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले जानकारी दिनुभयो । प्रस्तावित बजेटमा १४ कराेड ७३ लाख घाटा बजेट छ । आन्तरिक स्राेतकाे अनुमान ६ कराेड गरिएकाे छ ।
नगरसभामा आर्थिक विधेयक, कर्मचारी सेवा विधेयक पनि पेश भएका छन् । नगरसभा सदस्य विष्णु कार्कीले तानसेन खानेपानी उपभाेक्ता समिति विघटन गरी नगरपालिका मातहत ल्याउनुपर्ने प्रस्ताव पेश गर्नुभयाे । सभाले उपप्रमुख लक्ष्मीदेवी पाठककाे संयाेजकत्वमा कार्यदल गठन गरेकाे छ । कार्यदलकाे प्रतिवेशन आगामी नगरसभामा पेश गरिनेछ ।