तानसेनका जनप्रतिप्रतिनिधिको भत्ता कोरोना रोकथाम उपचार कोषमा


पाल्पा । चैत २१ – तानसेन नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन गर्न २५ लाख रुपैँयाको कोष खडा गरेको छ ।

तानसेन नगरकार्यपालिकाको आज बसेको बैठकले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन गर्न नगर गौरवका योजना अन्तर्गत विग बुद्ध परियोजनाका लागि विनियोजित २ करोडमध्येबाट २५ लाख रकमान्तर गर्ने र सो कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने निर्णय गरेको हो ।

तानसेन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले तानसेन कोरोना नियन्त्रण उपचार कोषमा ५ वटा बैठकको भत्ता जम्मा गर्ने निर्णय गरेको नगरपालिका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । कोषमा जनप्रतिनिधिले दिने रकम करिव ३ लाख ६ हजार हुनेछ । राष्ट्रिय वाणिज्य वैंक पाल्पामा छुट्टै खाता खोली सञ्चालन हुने कोषमा व्यक्ति तथा संस्थाले पनि योगदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
तानसेनले नगरपालिकाभित्र बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड २०७६ स्वीकृत गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका श्रमिक वर्ग असहाय व्यक्तिलाई राहत प्रदान गर्न इच्छुक व्यक्ति, संघ संस्थालाई एकद्वार प्रणालीबाट आउन अनुरोध गरेको छ । राहत दिन चाहने व्यक्तिले नगरपालिकामा राहत संकलन गर्ने र सम्बन्धित वडा कार्यालयको सिफारिशमा मात्र वितरण गर्ने व्यवस्था मिलाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताउनुभभो । कार्यपालिका बैठकले लकडाउनको अवधिभर सन्देश प्रवाह तथा भाइरस रोकथामका लागि प्रयोग गरिएको जीपको दैनिक ५ हजारका दरले कोषबाट भुक्तानी दिनेसमेत निर्णय गरेको छ ।

नगरपालिकामा दोस्रो चौमासिकसम्मको अवधिमा ३६ करोड ६० लाख २९ हजार ६ सय ९४ रुपैँया अर्थात् २१ प्रतिशत बजेट खर्च भएको छ । कुल विनियोजित १ अर्व ७ करोड ४ लाख ३१ हजार ४ सय १८ मध्ये ७० करोड ४४ लाख १ हजार ९ सय २४ रुपैँया बाँकी रहेको सूचना अधिकारी दुर्गा थापाले बताउनुभयो ।

नगरपालिकाले नदीजन्य पदार्थको अमानतमा उत्खनन गर्ने कार्यका लागि बाटोको निकास, जेसिभि मर्म र अन्य कामका लागि आवश्यक बीस लाख रुपैँया गाउँ नगर साझेदारी विकास कोष खाताबाट सोधभर्ना गर्ने गरी सापटी लिनेसमेत निर्णय गरेको छ ।