तानसेनमा ‘चीवर दान’ उत्सवसँगै सकियो तीन महिने वर्षाबास बुद्ध धर्मावलम्बीको महत्वपूर्ण तीन महिने वर्षाबास पर्व सकिएको छ । तीन महिना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि तानसेनमा ‘कठिन चीवर दान’ उत्सवको आयोजना गरी वर्षाबासको समापन गरिएको छ । दाता ज्ञानमाला संघ आनन्द विहारले विहारमा वर्षाबासमा बसेका ३ जना भिक्षुसहित विभिन्न देशका ३२ जना भिक्षुहरुलाई कठिन दान गरेको छ । बौद्ध परम्पराअनुसार विहारले टुँडिखेलमा भिक्षुुहरुलाई चीवर दान, अष्टपरिकार दान, धर्म सँगदान गरेको हो । दान गर्नुअघि भिमसेन टोलमा रहेको विहारबाट झाँकीसहित शान्ति पदयात्रा निकालिएको थियो । उक्त पदयात्रा टुुँडिखेल, तेस्रो सडक, शितलपाटी, टक्सारटोल, लहरेपिपल हुँदै टुुँडिखेलमा पुुगेर महोत्सवमा परिणत भएको थियो । शान्ति पदयात्रापछि त्यहाँ कठिन पूजा गरिएको थियो । उक्त अवसरमा प्रमुख भिक्षुु अशोक महास्थवीरले धर्मदेशना, भिक्षुु मेघनकर महास्थवीरले शील प्रार्थना, अन्तर्राष्ट्रिय परियत्ती उदय विहारका प्रमुख भिक्षुु ज्ञानेन्द्र स्थवीरले बुद्धपूजा र अछाम विहारका प्रो. भन्ते पैयासारले पूण्य अनुुमोदन गर्नुभएको थियो । धर्मदेशना गर्दै भिक्षुु अशोक महास्थवीरले गौतम बुद्धको उपदेश र उनले अनुुमति दिएको ‘कठिन चीवर दान’का विषयमा जानकारी गराउनुभएको थियो । कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने र नागरिकमा दान, शिल र भावनाको विकास हुने उहाँको भनाइ थियो । । महास्थवीरले एक वर्षमा एक दिन एकपटक मात्रै वर्षबासमा बसेका भिक्षुलाई लगाउने बस्त्रसहितका सामग्री दिन सकिने परम्परा भएकाले यसलाई कठिन दान भनिएको जानकारी गराए । कार्यक्रमका संयोजक तथा आनन्द विहारका पूर्व अध्यक्ष सर्जुुलाल बज्राचार्यले तीन महिना एकै ठाउँमा नियमपूर्वक वर्षाबास बसेका भिक्षुलाई बसमापनको अवसरमा ‘कठिन चीवर दान’ दिने बौद्ध परम्परा रहेकाले सोही अनुसार चीवर दान गरिएको बताउनुभयो । विहारका अध्यक्ष उत्पल कुमार बज्राचार्यले वर्षावास बस्नाले बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए–गरेका त्रुटि कमजोरीबाट पाप नलागि क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षाबास बस्ने गरेको बताउनुभयो । उहाँका अनुसार साउनको पूर्णिमादेखि कार्तिकको पूर्णिमासम्म ३ महिना भिक्षुुहरु वर्षाबास बसेका जानकारी दिनुभयो । भिक्षुु पैयासार स्थवीर, भिक्षुु सरण र श्रामणेर महिन्द आनन्द विहारमा वर्षाबास बसेका थिए । उनीहरुसहित विभिन्न देशका ३२ जना भिक्षुुलाई दान गरिएको थियो । लुम्बिनी, बुटवल, पोखरा, धरान, थाइल्याण्ड, भारत, अछामबाट भिक्षुुहरु तानसेन आएका थिए । महोत्सवमा भिक्षुले लगाउने पहेंलोवस्त्र (चिवर) र भिक्षा पात्र दान गरिएको थियो । कसैले अष्टपरिकार दान गरेका थिए । भिक्षुले लगाउने पहेंलो वस्त्र (चिवर) र भिक्षा पात्रलाई चिवर दान भनिन्छ । अष्टपरिकारमा भिक्षुका लागि आवश्यक कपाल र दारी खौरने समान, भित्री बाहिरी कपडा, सियो–धागोलगायत ८ सामग्री हुन्छ । चिवर दानपछि भन्तेलाई भोजन दान गरिएको थियो ।