
विजयकुमार बौडेल –
बोली । १ जेठ – तानसेन नगरपालिकाको चालु आर्थिक बर्षका योजनाहरु मध्ये ८० प्रतिशत याेजना सम्पन्न भएपनी १५ प्रतिशत मात्र योजना पुर्ण रुपमा फरफारक भई सम्पन्न भएका छन् ।
कुल ५ सय ३१ योजना मध्ये ८० वटा योजना मात्र पुर्ण रुपमा सम्पन्न भएका हुन् । जसमध्ये ८ वटा योजनाको सम्झौता हुन बाँकी नै छ । अधिकांश योजनाहरु सम्पन्न भईसकेका र कागजी रुपमा मात्र फ¥छ्यौट हुन बाँकी रहेको तानसेन नगरपालिकाका योजना अधिकृत भरत आचार्यले जानकारी दिनुभयो । भौतिक पुर्वाधार तर्फका धेरैजसो योजना सम्पन्न भईसकेको भएपनी कागजी प्रक्रिया पुरा नभएको कारणले सम्पन्न प्रतिशत कम देखिएको अधिकृत आचार्यले बताउनुभयो ।
तानसेन नगरपालिकाका नगरप्रमुख असोक कुमार शाहीले उपभोक्ता समितिका पदाधिकारीहरु आर्थिक बर्षको अन्तिममा आएर मात्र कार्यको गती बढाउने गरेको भन्दै यो बर्ष कती कार्य सम्पन्न हुन्छ भनेर यो महिनाको अन्तिममा मात्र भन्न सकिने बताउनुभयो । सबै उपभोक्ता समितिहरुलाई समयमै कार्य सम्पादन गर्न अनुरोध गर्दै शाहीले जेष्ठ महिना भित्रै सबै योजना सम्पन्न गर्ने गरि कार्य गरेको बताउनुभयो ।
तानसेन नगरपालिका र प्रदेश सरकारको लगानीमा बतासेडाँडा देखी सिमलबोट, बौघागुम्बा छेर्लुङ देखी कालीगण्डगी करीडोर मोटरबाटो, प्रदेशको एकल लगानीमा श्रीनगर डबली, नगरपालिका र सांसद विकास कोषको लगानीमा नयाँपाटी सारेम दमकडा मोटरबाटो, सेतीपोखरी गुफाचौर मोटरबाटो सञ्चालनमा रहेका छन् । यि सबै योजनाहरु बहुबर्षिय योजना हुन् । ३ बर्षभित्र सम्पन्न हुने गरि सबै बहुबर्षिय योजनाहरु सञ्चालनमा रहेको नगरप्रमुख असोक कुमार शाहीले बताउनुभयो ।
त्यस्तै तानसेन नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा टुँडिखेल स्तरोन्नतीको कार्य सञ्चालन भईरहेको छ । टुँडिखेल स्तरोन्नती बहुबर्षिय योजना अव आउने आर्थिक बर्षमा सम्पन्न हुने गरी कार्य भईरहेको तानसेन नगरपालिकाले जनाएको छ ।