पाल्पा । तानसेन नगरपालिका र चीनको लसान नगर बीच छिट्टै भगिनी सम्बन्ध स्थापित हुने भएको छ ।
तानसेन नगरपालिकाको आयोजना गरेकाे कार्यक्रममा नेपाल र चीनका दुई नगर बीच सम्बन्ध कायम हुन लागेकाे जानकारी दिइएकाे हाे । तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले तानसेन नगरपालिका र चीनको लसान नगरबीच भगिनी सम्बन्ध कायम गरेर आफूहरू सुमधुर सम्बन्ध स्थापित गर्न लागेको बताउनुभयाे । नगरपालिका प्रमुख शाहीले लसान नगर र तानसेन नगरपालिकाका बीचमा सम्बन्ध स्थापित भएपछि शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको सोच रहेको बताउनुभयो ।
सम्बन्ध बिस्तारका लागि दुबै देशका नगरका प्रतिनिधिहरू बीचमा छलफल, विचार आदानप्रदान र दुई पक्षीय भ्रमणका कार्यक्रम भइसकेका छन् । लसानका कार्यकारी मेयर ची लु पिनसहितकाे टाेलीले तानसेनकाे भ्रमण गरिसक्नुभएकाे छ भने तानसेनका प्रमुख अशाेककुमार शाहीसहितकाे टाेलीले लसानकाे भ्रमण गरिसकेकाे छ ।
लसान र तानसेन बीच सम्बन्ध बिस्तारका लागि सक्रिय चीन सम्बन्धी जानकार डा. सागर न्याैपानेले काेभिड १९ का कारण भगिनी सम्बन्ध कायम गर्ने प्रक्रियामा ढिलाई भएकाे बताउनुभयाे । तानसेन र लसानका बीचमा शिक्षा, संस्कृति, प्रविधि, सीप, उद्योग, जनशक्ति उत्पादन, पशुपालन, पर्यटन र कृषि क्षेत्रमा सहकार्य हुने उहाँले स्पष्ट पार्नुभयाे । डा. न्याैपानेले चीनका राष्ट्रपति सीजिपिङ्द्वारा चीनमा अख्तियार गरेको ग्रामीण क्षेत्रको पुनउत्र्थान नीति तानसेन भित्रकै ग्रामीण क्षेत्रमै लागू गरेर समृद्ध गाउँ बनाउन सकिने विचार व्यक्त गर्नुभयाे ।
तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गाेविन्द भट्टराईले सहजीकरण गर्नुभएकाे कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी पाठक, जनप्रतिनिधीहरू र पाल्पाका पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे ।