तानसेन वनदेवी क्षेत्रको सडक बिस्तार

पाल्पा । जेठ १३ – तानसेन नगरपालिकाले तानसेन तम्घास सडकको बनदेवी टक्सार खण्डमा सडक बिस्तारको काम आरम्भ गरेको छ ।


जिल्ला सदरमुकाम तानसेनबाट गुल्मी अर्घाखाँची जाने सडक साँघुरो भएकाले बिस्तारको काम अगाडि बढाएको नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । सडक बिस्तार गर्न नगरपालिकाले ४० लाख बजेट विनियोजन गरेको र उपभोक्ता समितिमार्फत् चौडा बनाउने कार्य धमाधम भइरहेको छ । बिस्तार गर्न २\३ वटा डोजर स्क्याभेटरले काम गरिरहेका छन्, तार जाली भर्ने काम पनि हुँदैछ ।


सदरमुकाम प्रवेशद्वार र बजार क्षेत्रका सडक साँघुरो भएर सडक जाम हुने, ट्राफिक चाप व्यवस्थित गर्न कठीन हुने र पैदल यात्रीलाई समेत समस्या पर्न थालेको छ । कार्यालय समयभित्र बजारमा गाडी जाम हुने र विद्यार्थीहरु स्कुल जाने र निस्कने बेलामा समस्या हुने गरेको छ । नेकपाका नेता नेत्र पाण्डेयले विकासको मुख्य अंग भनेकै सडक भएकाले मुख्य सडक मापदण्ड वमोजिम बनाउन सबै नागरिकले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म दिनदिनै बसेर काम हेरिरहेको छु । तानसेनको विकास चाहने, पर्यटकीय केन्द्र बनाउने हो भने यस्तै ठूला र स्तरीय सडक बनाउनुको विकल्प छैन ।’

यसअघि नगर कार्यपालिकाको बैठकले हुलाङ्दी ढुंगाखानी सडक खण्ड केन्द्र भागबाट दायाँबायाँ १०\१० मिटर रेखांकन गरी चौडा पार्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । निर्णयपछि सडक छेउ घर आवास भएका व्यक्तिहरुले सडकको चौडाई ९ मिटर मात्र कायम गर्नुपर्ने माग गरेका थिए । नगरपालिकाले स्थानीय शासन ऐन वमोजिम हुलाङ्दी ढुंगाखानी सडकको चौडाई १०\१० मिटर कायम गरेपछि करिव २ सय घर प्रभावित हुने अनुमान गरिएको छ ।