तानसेन श्रीनगरमा विग बुद्धको संरचना निर्माण अगाडि बढाउने

पाल्पा । तानसेन नगरपालिकाले श्रीनगरमा विग बुद्धअन्र्तगत वाटर फाउन्डेसनका लागि नेपाल सरकार अर्थ मन्त्रालयसँग बजेट माग गर्ने निर्णय गरेको छ ।

तानसेन नगरपालिकाको आठौं कार्यपालिका बैठकले विग बुद्धको विस्तृत सम्भाव्यता अध्ययन डिपिआर अन्तिम चरणमा रहेको र वाटर फाउन्डेसनका लागि नेपाल सरकारसँग बजेट माग गर्ने निर्णय गरेको हो । कार्यपालिकाले विग बुद्धको फाउन्डेसन निर्माणअन्तर्गतको संरचना निर्माणको प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख अशोककुमार शाहीले यो विग बुद्ध १ अरवको परियोजना रहेकोमा फाउन्डेसन निर्माणमा १३ करोड, बुद्ध मूर्तिमा २१ करोड र वाटर फाउन्डेसनको ५ करोड रुपैँया स्टमेट गरिएको बताउनुभयो ।

 

शिक्षातर्फको सशर्त अनुदानमा प्राप्त बजेटबाट विद्यालयको माग वमोजिम शैक्षिक तथा भौतिक पूर्वाधार कार्यक्रममा ८१ लाख रुपैँया बजेट बाँडफाँड गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताउनुभयो । जनता माध्यमिक विद्यालय, दमकडा माध्यमिक विद्यालय, लुम्बिनी माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालयलाई ६ लाख ५० हजारका दरले माध्यमिक पुस्तकालय निर्माणमा लगानी गर्ने भएको छ । यसैगरी भुसलडाँडा माध्यमिक विद्यालय, देववाणि माध्यमिक विद्यालय, पद्यम पब्लिक माध्इमिक विद्यालयमा विज्ञान प्रयोगशालामा ६ लाख ५० हजार, मोहनकन्या माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालयलाई आइसिटीमा ६ लाख ५० हजार रुपैया विनियोजन गरेको छ । यसैगरी अर्गलीको त्रिभुवन माध्यमिक विद्यालय र बालज्योति प्राथमिक विद्यालयलाई शौचालय निर्माणमा ७ लाख रुपैया, सेन माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, मण्डली माध्यमिक विद्यालय र गार्गी माध्यमिक विद्यालयलाई क्रियाकलापमा आधारित सामग्रीमा ५० हजार रुपैंया विनियोजन गरेको छ ।

नगरपालिकाको शिक्षातर्फको प्रवद्र्धनात्मक डेढ करोडको बजेटका कार्यक्रम पनि छुट्टयाएको छ । नगरपालिकाले १८ वटा माध्यमिक विद्यालयका ५४ जना र आधारभूतका ३४ शिक्षकलाई ७५\२५ को लागत साझेदारीमा ल्यापटप दिने निर्णय गरेको छ । शिक्षकले ल्यापटप खरिदमा प्रतिव्यक्ति १५ हजार रुपैँया प्राप्त गर्नेछन् । विद्यालयमा आइसिटी व्यवस्थापनमा ९ लाख, युवा खेलकुदमा ५ लाख, विद्यालयलाई मास्क र सेनिटाइटरका लागि ५ लाख, महामारीमा सक्रिय ३० शिक्षकलाई २ हजारका दरले ६० हजार, विद्यालय अनुगमन डेढ लाख, शिक्षा समितिको बैठक र क्यालेन्डर निर्माण २ लाख ३१ हजार, वैकल्पिक सिकाइ सहजीकरण ५ लाख, स्थानीय पाठ्यक्रम निर्माण ४ लाख, अतिरिक्त क्रियाकलाप ४ लाख बजेट बाँडफाँड गरेको छ ।

तानसेन नगरपालिकाले हरित वसपार्क निर्माणका लागि नगर विकास कोषसँग १० करोड बराबरको ऋण र अनुदान माग गर्नेलगायतका निर्णय गरेको छ । बसपार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न कन्सल्टेन्टमार्फत् काम अगाडि बढाउने तयारी गरिसकेको छ ।