तिहारको उपहार पाल्पाली ढाका

यसपालीको तिहारमा धेरैले उपहार र कोशेलीका रुपमा पाल्पाली ढाका प्रयोग गरेका छन् ।

दिदीबहिनीहरुले दाजुभाईलाई टीकापछि उपहार दिन पाल्पाली ढाकाको टोपी, गलबन्दी लगेका हुन् । दाजुभाइले पनि दिदी बहिनीका लागि ढाकाको साडी र पछ्यौरा उपहार दिएका छन् । पाल्पाली ढाका संघले ढाकाको ब्राण्डिग गरेर बजारमा ल्याउन थालेपछि गुणस्तरीय ढाका किन्नेहरु बढेका हुन् । तानसेन नगरपालिकाले पाल्पाली ढाकाको पहिचान र गरिमालाई कायम राख्न ढाकाको ब्राण्डिग गरेर बजारमा ल्याउने कार्यका लागि युके एड, लुम्बिनी प्रदेश सरकारसँग नेपाली ढाका समृद्धिका लागि साझेदारी परियोजना सञ्चालन गरेको थियो ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई कोशेलीको रुपमा ढाकाबाट उत्पादिन सामान दिने चलन नै बसेको छ । कोरोनाको लहर घट्न थालेपछि तिहारमा ढाकाको बिक्री वितरण बढेको पौड्याल ढाका उद्योगका मनोज पौड्यालले बताउनुभयो । पाल्पालली ढाका संघका अध्यक्ष पूर्णमाया महर्जनले गत वर्षको दशैंतिहारमा भन्दा योे वर्षको दशैंतिहारमा ढाकाको माग बढी रहेका बताउनुभयो । परम्परागत तानमा हातले बुनेका ढाका कपडाको माग बढ्न थालेपछि ढाका व्यवसायीहरुले पनि हाते तान बढाएका छन् । ढाका व्यापारीका अनुसार तिहारको अघिल्लो तीन दिन व्यापार भयो ।   मदनपोखरा ढाका पसलका प्राेपराइटर सितम भण्डारीले भन्नुभयाे, ‘गत वर्ष यत्तिको पनि व्यापार थिएन । यसपटक राम्राे व्यापार भयाे, खुसी भइयो ।’

उद्यमी गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि २०१५ सालमा पाल्पामा ढाका उत्पादन गर्न थाल्नुभएको हो । यो उत्पादन नै अहिले पाल्पाली ढाकाको रुपमा पहिचान बनेको छ । तानसेन नगरपालिकाले टुँडिखेलमा ढाका मात्र पाइने पाल्पाली कोशेली घर पनि सञ्चालन ल्याएको छ ।