थ्रेसरको सहयोगमा दाइँ गर्दै माडीका किसानहरु

बोली । कार्तिक २८ – पाल्पा जिल्लामा परम्परागत प्रविधिको सट्टा आधुनिक उपकरण र प्रविधिले किसानलाई खेतीपातीमा सुविधा दिन थालेका छन् ।


हिउँदे बाली भित्र्याउने मुख्य माँचो हुने मंसिर नलाग्दै किसानहरुले थ्रेसर र ट्याक्टरको प्रयोग गरेर धान पराल घर ल्याइरहेका छन् । माडीफाँटको आधाभन्दा धेरै खेतको धान पराल किसानहरुले स्याहारिसकेका छन् । धान काट्ने, पाँजो लाउने, बिटा उठाउने, दाइँ गर्ने र धान पराल बोक्ने काममा महिनौं दिन लगाउने किसानहरु अहिले २\४ दिनको अन्तरालमै खेती स्याहार्ने गरेका छन् ।


धान काट्ने पाँजा लगाउने एकदिन, बिटा बाँध्ने, धान झार्ने र खरै लगाउने एक दिन र दाइँ गर्ने एक दिन गरी ३\४ दिन लगाउनुपर्ने काम थ्रेसरले एकै दिनमा झारेको छ । धान पराल बोक्ने काम ट्याक्टरले लिएकाले किसानको श्रम, समय र पैसा बचत भएको छ । ८\१० जना खेतालाको दिनभरको मेलो थ्रेसरले एकै घण्टामा सक्दिने भएकाले पनि धेरैले थ्रेसरबाट धान झाँट्ने गर्न थालेको तानसेन ९ का कृषक लीलाप्रसाद बस्यालले बताउनुभयो । आधुनिक प्रविधिका कारण कम जनशक्तिले पनि खेती गर्न सकिने र थोरै समयमा धेरै काम लिन सकिने स्थिति भएको उहाँको भनाई छ ।


दमकडा, सराई, टिन्टीआँप, कुन्सरे, दोहोरा, लालपाटी, बुढीकोट, पिप्ले टोलैपिच्छे ट्याक्टर र थ्रेसर पाइन थालेपछि किसानहरुलाई धेरैनै सुविधा भएको छ । माडीफाँटमा रहेका करिव १० वटा थ्रेसरले दाइँ गरेको दृष्य हेर्नलायक हुने गरेको छ । डबल फिल्टरवाला थ्रेसरले धान ओसाउनै नपर्ने, पराल तान्न र सोहर्न नपर्ने हुँदा पनि आफूहरुलाई काम भ्याइनभ्याई भएको थ्रेसर सञ्चालक विष्णु पाण्डेय सटुकेलीले बताउनुभयो । एउटा थ्रेसरले एक घण्टामा ४०\४५ मुरी धान झाँट्ने र पराल माड्ने गर्दछ ।


माडीफाँटको सरम्जालगायतका गैरीखेतहरुको धानपराल स्याहारेर सकिएको छ भने टारी खेतको धान पनि भित्र्याउने लहर चलिरहेको छ । माडीफाँटसँगै रामपुर, अर्गली, हुँगी, कचल, झडेवा, सर्देवा, पूर्वखोला र गल्धा फाँटहरुमा पनि थ्रेसर र ट्याक्टरको प्रयोग गरी धान भित्र्याउने काम भइरहेको छ । मियो गाडेर दाइँ गर्ने परम्परा हट्दै गएको छ । विगतमा फाँटमा घोल्की बनाएर धान पराल कुर्ने र मंसिरभरि धान पराल बोक्ने युग पार गरेकाहरु कृषि प्रविधिले ल्याएको यो सुविधा देखेर छक्क परेका छन् ।