दमकडाका ३६ शिक्षकको निशुल्क कोरोना बीमा

पाल्पा । दमकडा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सरकारी स्रोतबाट तलवभत्ता खाने सम्पूर्ण शिक्षक कर्मचारीको कोरोना बीमा गरिदिएको छ ।

दमकडा माध्यमिक विद्यालयले ३६ जना शिक्षकको सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडकमार्फत् कोरोना बीमा गरिदिएको हो । निशुल्क बीमा शुल्कमा प्रतिव्यक्ति १ लाख रुपैँयाको बीमाङ्क रहने गरी विमा गरिएको सगरमाथा इन्सुरेन्स कम्पनी पाल्पाका शाखा प्रबन्धक करुणा काफ्लेले बताउनुभयो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबा उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षाका लागि नेपाल सरकारले सरकारी कर्मचारीको निशुल्क विमा गरिदिने नीति ल्याएको हो । आर्थिक वर्ष २०७७\०७८ को बजेट वक्तव्यको बुँदा नं ५५ र २८५ मा कोरोना बीमा सम्बन्धी उल्लेख गरिएको थियो । अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ लागू गरेपछि यो कार्यक्रम लागू भएको हो ।

दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले राष्ट्रसेवक कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शत प्रतिशत अनुदान दिने कुरा बजेटमा सुनेको र त्यसको यति छिट्टै आफूहरुले गर्न पाउँदा खुशी लागेको बताउनुभयो । विद्यालयका शिक्षकहरुको सामूहिक बीमा गर्दा मात्र २० रुपैँया टिकट खर्च भएको प्रधानाध्यापक सापकोटाको भनाई छ ।

नेपाल सरकारले बीमा समितिबाट इजाजतपत्र प्राप्त गरेका नेपालका २० वटा निर्जीवन बीमा कम्पनीमार्फत बीमा गराइरहेको छ । बीमालेख प्राप्त गरेको १५ दिन पछाडी कोरोनाको संक्रमण देखिएमा विमा कम्पनीले ७ दिनभित्र १ लाख रुपैंया दिनुपर्ने व्यवस्था छ । आम नागरिकले गर्ने सामूहिक कोरोना बीमामा ५० प्रतिशत अनुदान पाउने व्यवस्था रहेको छ ।

विद्यालयले परियोजना कार्य, टोलटोलमा शिक्षा र रेडियोमार्फत् पठनपाठनमा आफ्ना शिक्षकहरु संलग्न भइरहेको र कोरोनाको जोखिमबाट बच्न यो आर्थिक सुरक्षाको कार्यक्रमले थप उप्रेरणा दिने विद्यालयका शिक्षकहरुको भनाई छ ।