
दमकडा । तानसेन नगरपालिका ९ दमकडामा पाल्पा महोत्सव सुरु भएको छ ।
स्वास्थ्य, जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ड्रोनले राष्ट्रिय उडाएर महोत्सवको उद्घाटन गर्नुभएको हो । अन्न भण्डार माडी उपत्यकाको दमकडामा बिहीबार बाट सुरु भएको पाल्पा महोत्सवको उद्घाटन गर्दै मन्त्री ढकालले अहिलेसम्म एक जना नेपालीमा पनि कोरोना भाइरस नभएको बताउनुभयो । चीनमा रहेका नेपाली विद्यार्थी पनि कोरोना भाइरसबाट प्रभावित नभएको उहाँले जानकारी दिनुभयो । हाल सम्म परीक्षण गरिएका सबै नेगेटिभ भएकाले पनि मुलुकमा कोरोना भाइरस नभएको पुष्टी भएको छ उहाँ भन्नुभयो ।
नेपालीलाई सामान्य रुघाखोकी चल्दा पनि कोरोनाले नै आक्रमण गरेको शंका जन्माएर गलतप्रचार भइरहेको मन्त्री ढकालको भनाई छ । माडीको सुन्दर फाँटले आफूलाई आकर्षित गरेको उल्लेख गर्दै मन्त्री ढकालले महोत्वसले स्थानीय कृषि उपजको व्यवसायिकीकरण र औधोगिकरणमा सघाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा विषादीको अधिक्तम प्रयोगले रोग बढ्दै गएको र यसको न्यूनीकरण गर्न अर्गानिक कृषि उत्पादन तर्फ कृषकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमममा पूर्व उद्योगमन्त्री तथाप्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डेयले कृषि, पर्यटनको मुख्यनारा बोकेर आयोजना गरिएको महोत्सवले मदनपोखरा र माडीको कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सभासद् नारायण प्रसाद आचार्यले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रदेश सभासद् डा. पुरनमान बज्राचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले ग्रामीण क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले व्यापार संघले दमकडामा महोत्सव आयोजन गरेर बजारमुखी व्यवसायमा मात्र निर्भर हुनुनपर्ने सन्देश दिएको बताउनुभयो । नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्षलगायतका उद्योग व्यवसायीहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यस्ता स्थानीय प्रयास आवश्यक रहेको बताउनुभयो । नेपाली काँग्रेसका सचिव अजयमान कर्माचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर, नेकपा मालेका धनराज पौडेल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनलगायतले महोत्सव सफलताका लागि शुभकामना दिनुभयो ।
‘पाल्पाको समृद्धिको आधार, कृषि, पर्यटन र व्यापार’ भन्ने नाराका साथ हिँजो देखि सुरू भएको महोत्सव ११ गतेसम्म सञ्चालन हुने छ । उद्घाटन ¥यालीमा माडी क्षेत्रका करिव १ सय संघसंस्थाले आफ्नो पहिचान झाँकी सहित ¥याली निकालेका थिए । शिक्षण संस्था, आमा समूह, कृषि समूह, टोल विकास संस्था, मगर समूह, नेवार समूहको झाँकी ¥याली अत्यन्त आकर्षक थिए । महोत्वसको पहिलो दिन स्थानीय समुदायको सहभागिता निकै उत्साहप्रद देखियो ।

महोत्सवमा २ सय ७५ वटा स्टल रहेका छन् । पाल्पाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित पाल्पाली ढाका, करुवालगायतका वस्तु, पाल्पाका पशुपालक किसानले उत्पादन गरेको दुग्धजन्य वस्तु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामग्री स्टलमा राखिएको संघका अध्यक्ष चिरञ्जीवि पोखरेलले बताउनुभयो । झण्डै एकलाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ५ करोड बराबरको कारोबार हुनेछ भने करिब ७० लाख आम्दानी हुने आयोजकको अनुमान छ ।
४० लाख खर्च गरेर ३० लाख शुद्ध नाफा हुने अनुमान रहेको संघका अध्यक्ष पोखरेलले बताउनुभयो । महोत्सव अवलोकनको लागि सर्वसाधारणले ५० रुपयाँ, विद्यार्थीले २५ रुपैयाँ तिर्नु पर्ने छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले निशुल्क व्यवस्था गरिएको सचिव पर्शुराम पौड्यालले जानकारी दिनुभयो ।