दमकडा माविको भिडियो कन्फ्रेन्स बैठक, फेसबुक पेजबाटै नतिजा प्रकाशन


विजयकुमार बौडेल 
चैत २४ – कोरोना भाईरसको संक्रमणले भेला हुन असुरक्षित भएपछी दमकडा माविका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी प्रविधिको प्रयोग गरि बैठक बसेका छन् ।

सरकारले कोरोना भाईरसको संक्रमण कम गर्न लकडाउन गरेपछी विद्यार्थीको नतिजा, नयाँ शैक्षिक सत्र सञ्चालनलगाएतका विषयमा छलफल गर्न बैठक बसेको हो । जुम ग्रुप भिडियो च्याट बाट सञ्चालक समितिका पदाधिकारी र शिक्षकहरुको बैठक बसी विभिन्न विषयमा छलफल चलेको दमकडा माविका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले बताउनुभयो ।

दमकडा मावि व्यवस्थापन समितिका अध्यक्ष एवम् पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले संकटको घडिमा पनी आफ्नो संस्थाको जिम्मेवारी बोध गरेमा भिडियो कन्फ्रेन्स मार्फत पनी विभिन्न विषयमा छलफल गरेर कार्यसम्पादन गर्न सकिने बताउनुभयो । अध्यक्ष अर्यालले कोरोना संक्रमणको बेला प्रविधिको प्रयोगले भिडभाड कम गरि राज्यलाई सघाउने, आफु बँच्ने र समाजलाई पनी बँचाउनु सबैको जिम्मेवारी हुने बताउनुभयो ।

दमकडा माविका शिक्षक जिवन आचार्यले विश्व दैनिक रुपमा प्रविधिको नजिक नजिक गईरहेका बेला दमकडा माविले पनी त्यसको प्रयोग गरेको बताउनुभयो । आचार्यले शिक्षक संगै विद्यार्थी र अभिभावकहरुलाई पनी प्रविधि मैत्री बनाउने पहल दमकडा माविले गरेको बताउनुभयो ।

भिडियो कन्फ्रेन्स बैठकले लकडाउनको अवस्थाको समीक्षा गरी दमकडा माध्यमिक विद्यालय पाल्पाले चैत्र ३० गते आइतबार १ बजे परीक्षाफल प्रकाशन गर्ने र सो परीक्षाफल वेभसाइट र विद्यालयको फेसबुक पेजमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै वार्षिक शैक्षिक कार्यक्रम समेटिएको क्यालेन्डर निर्माण गर्न प्रधानाध्यापकसहित तहगत संयोजकको बैठक गरेर तयारी गर्ने र क्यालेन्डर लकडाउन र कोरोना महामारीको अवस्था हेरी उपयुक्त समयमा विद्यालय शैक्षिक भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरेको छ ।

शैक्षिक गतिविधि थप प्रभावकारी बनाउन सबै शिक्षकले डिजिटल माध्यमबाट प्रदर्शन गर्ने, मल्टिमिडिया प्रोजेक्टरबाट पढाउन मिल्ने महिनामा २/२ वटा शैक्षिक सामग्री बनाएर ल्याउने र एक शैक्षिक शत्रका लागि आवश्यक ४/४ वटा प्रश्नपत्र शैक्षिक शत्रको सुरूवातमै अनिवार्य तयार गर्ने समेत निर्णय गरेको छ ।

बैठकले विद्यार्थीसँग टेलिफोन, म्यासेन्जरको प्रयोग गरी कक्षागत शिक्षकले जिम्मेवारी लिएर सम्पर्क गर्ने, विद्यालय, कोरोना भाइरस र लकडाउनको अवस्था जानकारी गराउने र एसइइको तयारीमा रहेका विद्यार्थीसँग भने हरेक विषय शिक्षकले सम्पर्क गरी विद्यालयको समूहमा अनिवार्य जानकारी गराउने समेत निर्णय गरेको छ ।