धर्मका नाममा व्यापार


बाेली। गुरु पुरोहितहरु सत्यवादी थिए । त्याग र समर्पणको भावना बोक्दथे । उपकार र परोपकार गर्न जीवन व्यस्त रहन्थे । आज त्यो युग फेरिएको छ । पण्डितहरु दक्षिणामा बोलकबोल गरेर मात्र धार्मिक यज्ञमा आउने गर्दछन् । बाटोघाटो निर्माण गर्ने, पुल बनाउने, ठुल्ठूला आयोजना ठेक्कापट्टामा लिने सुनिन्थ्यो । अहिले धार्मिक कार्य नै ठेक्कामा लिने प्रचलन बढेको छ । यज्ञयज्ञादीलाई ठेक्कामा सञ्चालन गर्ने बानीको विकास गरेका छन् । धार्मिक महायज्ञहरु आस्था र शास्त्रको ज्ञानभन्दा अर्थ संकलनको माध्यम बन्न थालेका छन् ।


गाउँ सहर सबैतिर आयोजित महायज्ञमा शास्त्रको प्रवचन, संस्कार पद्धति र संस्कृतिका विषयमा भन्दा आर्थिक संकलनमा आयोजकको ध्यान केन्द्रित हुन थालेकोमा सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । आयोजकमाथि पैसा हिनामिना गरेको र व्यास पण्डितहरुमाथि धर्मको व्यापार गरेको गम्भीर आरोप लागेको छ ।

श्रीकृष्ण महाराजलले तेल्घामा आयोजित गणेशधाम यज्ञबाट टेन्ट, विजुली, गायक खर्च र दक्षिणा गरेर १८ लाखभन्दा बढी र भालेबासबाट २५ लाख रुपैँया लगेका छन् । रिब्दीकोटको सरस्वती माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि सञ्चालित महायज्ञबाट पण्डित इश्वरशरण महाराजजीले २० लाख रुपैँया बुझेकाे स्थानीय बासिन्दाले बताएका छन् । मदनपोखराको कमलेश्वर मन्दिरमा आयोजित शिव पुराण महिमा विशेष महायज्ञमा ९ \१० लाख रुपैँया बचत हुने अनुमान गरिएको अध्यक्ष जीवनाथ पाण्डेयले जानकारी दिनुभयो । महायज्ञमा पण्डित पुरुर्षोत्तम शरण शास्त्री र उहाँका सहयोगीहरुले ३ लाख रुपैँया दक्षिणा पाएका छन् । आयोजकहरुले टेन्ट र वाद्यवादन सामग्री छुट्टै व्यवस्था गरेका थिए ।


लाेकेश्वर महादेव मन्दिर पूर्वखाेलामा १८ महापुराण र ८ उपपुराणको महायज्ञ लगाइसक्नुभएका विद्वान नीलकण्ठ न्यौपानेले महायज्ञहरु धर्मका नाममा व्यापार बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यज्ञका नाममा सुकृति हैन, विकृति फैलिरहेको छ । गुरु पुरोहित त्यागी बन्नुपर्नेमा दक्षिणाको मोलमोलाई गर्ने अवस्था छ ।’ महायज्ञमा हुने खर्च पारदर्शी नहुने, दान प्राप्त जग्गा नामसारी नहुने र पैसा हिनामिना हुने गुनासो पनि आइरहेका छन् ।


तामझाम र राजर्षी ठाँटबाँटसँग आउने पण्डितहरुले महायज्ञको दक्षिणामा बोलकबोल गरिरहेका छन् । कतिपय स्थानमा मूल पण्डितले ग्रन्थै नर्फकाउने अवस्था पनि देखिन्छ । आदर्श पुरुषका रुपमा मानिने गुरुहरुले पैसा कुम्लो बोकेर हिंड्दा सामाजिक सम्मान मात्र होइन धार्मिक आस्थासमेत घट्न पुगेको छ ।


सरस्वती माध्यमिक विद्यालय जल्पामा आयोजित महायज्ञमा आयोजकले ४ लाख ५० हजार दक्षिणा दिँदा पण्डित नारायण न्यौपाने आयोजकसँग रिसाएर फर्किएको स्थानीय बासिन्दाले बताएका छन् । चन्द्र माध्यमिक विद्यालय चापपानीमा आयोजित महायज्ञबाट भने उहाँले दक्षिणा र कलाकार खर्च भनेर ५ लाख रुपैंया लिएका छन् । यो रकमलाई आयोजकहरुले अन्यत्रको तुलनामा आफूहरुले कम दिएको बताएका छन् ।


जल्पामा पण्डितसँग आएका कलाकारहरुले खैरनीबाट २ जना युवती समेत भगाएर लगेका छन् । गुरु त्यागी हुनुपर्ने, दक्षिणामा कबोल गर्न नहुने मान्यता भत्काउँदै यज्ञयज्ञादीलाई ठेक्कामा सञ्चालन गर्ने प्रवृति बढेको छ । सरोकारवालाले महायज्ञमा गजल, झाम्रे, लोकगीतमा दर्शक नचाएर मनोरञ्जन दिने र सम्पत्ति कमाउने माध्यम बन्नुलाई सामाजिक विकृति भनेका छन् ।