नदी दोहन गर्न स्थानीय तहको अनुमति

बारा : बाराको निजगढस्थित बकैया खोलामा निजगढ नगरपालिकाको अनुमतिमा नदीजन्य वस्तुको अवैध उत्खनन् भइरहेको छ। नगरपालिकाले ठेक्का आह्वान गरी ओम सप्लायर्स कलैयालाई ग्राभेल, बालुवा, ढुङ्गा उत्खनन अनुमति दिएको हो। नगरपालिकाले तीन करोड ७६ लाख रुपैयाँमा एक वर्षका लागि नदीजन्य वस्तु उत्खनन गरी बिक्री गर्न टेन्डर आह्वान गरेको थियो। जसअनुसार ओम सप्लायर्सले सात करोड ७७ लाख ७७ हजार ७७७ रुपैयाँमा ठेक्का लिएको हो। नदीमा कानुनविपरीत उत्खनन भएपछि जिल्ला समन्वय समितिको संयोजक नवलकिशोर सिंहको नेतृत्वको टोली अनुगमन गरेको छ। अनुगमनका क्रममा मापदण्डविपरीत उल्खनन् भएको पाइएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए। ‘विनाप्राविधिक नदीमा बाढीको बहावको ख्याल नै नगरी उत्खखन् भएको छ,’ प्रजिअ पौडेलले भने, ‘उत्खनन्ले थप जोखिम निम्त्याउँछ।’ जिल्ला समन्वय समितिले निर्णय नआउन्जेलसम्म उत्खनन् रोक्न निर्देशन दिएको छ। आइतबार बस्ने वैठकले आवश्यक निर्णय लिने भएको छ। डिभिजन वन कार्यालय बाराका प्रमुख शिवशंकर ठाकुरले मापदण्डविपरीत उत्खनन् भइरहेको थाहा पाएपछि नगरपालिकालाई पत्रचार गरे पनि कुनै जवाफ नआएको बताए। ९० सिएमभन्दा बढी गहिराइ खन्न नमिल्ने भए पनि त्योभन्दा धेरै गहिरो पारिएको उनको भनाइ छ।

उत्तरतर्फ उत्खनन् कोहल्वी नगरपालिका र निजगढ नगरपालिकाको सीमा विवादका कारण राजमार्गस्थित बकैया पुलदेखि उत्तरतर्फ अनुमति दिएको थियो। जिल्ला समन्वय समिति बाराको वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्टअनुसार निजगढ नगरपालिकाले पुलको उत्तरतर्पm प्लट नम्बर ३ को खोला बगरबीचमा स्काभेटर लगाएर उत्खनन गर्न ठेकेदारलाई अनुमति दिइएको थियो। बकैया खोलाको उत्तरतर्फ ३ र दक्षिणतर्फ एक गरी कुल चार वटा उत्खनन प्लट रिर्पोटले निर्धारण गरेको छ। जस अनुसार प्लट नम्बर १ मा ८ लाख ४१ हजार ८७५ घनमिटर, प्लट नम्बर २ मा दुई लाख ३४ हजार ३७५ घनमिटर, प्लट नम्बर ३ मा चार लाख ९० हजार १२५ घनमिटर र प्लट नम्बर ४ मा दुई लाख १७ हजार ५०० घनमिटर नदीजन्य वस्तु उत्खनन गर्न सकिने सो रिर्पोटमा उल्लेख छ। रिपोर्टमा कुल १७ लाख ८३ हजार ८७५ घनमिटर नदीजन्य वस्तु ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन गर्न सकिने जनाएको छ। जसमा नरकट र झाडीबाहेकका क्षेत्रसमेत भनिएको छ। पछिल्लो पटक प्लट नम्बर ३ मा १६ सय ७० मिटर लम्बाइ, ५० मिटर चौडाइ र दुई मिटर गहिराइ हुने गरी उत्खनन गर्न सकिने भनिएको थियो भने पुलको दायाबाया ५००/५०० मिटरभित्र उत्खनन गर्न निषेध गरिएको छ। खोला वस्ती र वनलाई कुनै असर नपर्ने गरी नदीजन्य वस्तु उत्खनन गर्न दिइएको निजगढ नगर प्रमुख सुरेशकुमार खनालको दाबी छ। पुलदेखि उत्तरतर्फको खोलाबगरमा स्काभेटरलगायतका मेशिन प्रयोग गरी उत्खनन गर्न नहुने भन्दै स्थानीयले विरोध गरेपछि सर्वपक्षीय छलफलपछि अनुगमन समिति गठन गरिएको थियो। अनुगमनपछि मापदण्ड बनाएर उल्खननको अनुमति दिइएको अनुगमन समितिका संयोजक नगर प्रमुख खनाले बताए। स्थानीयको विरोध वस्तीलाई संकटमा पार्ने गरी कुनै उत्खनन कार्य गर्न नहुने बकैया नागमणि सामुदायिक वन समूहका अध्यक्ष रविराज दंगाल बताउँछन्। ‘प्रत्येक वर्ष बाढीले वन क्षेत्र नोक्सान गरिरहेको छ,’ अध्यक्ष दंगालले भने, ‘नगरपालिकाले नदी नियन्त्रणतर्फ ध्यान दिनुपर्छ।’ निजगढस्थित गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष केदारप्रसाद गौतमले नदी तटबन्धनलाई नै असर पार्ने गरी उत्खनन् भइरहेको बताए। मापदण्डविपरीत भएको उत्खनन् तत्काल रोक्नुपर्ने उनको माग छ। उद्योगीको दादागिरी बकैया आसपासमा सञ्चालित क्रसर उद्योगले सयौंको संख्यामा ट्रयाक्टर, टिपर सञ्चालन गरेको छ। सरकारले तीन वर्षअघि सञ्चालनमा रोक लगाए पनि हेभी इक्युपमेन्ट नदीमा खुलेआम प्रयोग हुँदै आएको छ। यहाँका क्रसर उद्योग तीन वर्षदेखि अनुमतिविना नै सञ्चालन भइरहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को नियमावली ३४ बमोजिम आरक्ष क्षेत्रभित्र खानी खन्न, ढुंगा निकाल्न वा कुनै पनि प्राकृतिक स्रोत र सम्पदालाई खलल पुग्ने काम गर्न र गराउन नपाउने उल्लेख छ। तर, ती क्रसर उद्योगले मनोमानी ढंगले नदी खोस्रिरहेका छन्। निजगढ नगरप्रमुख सुरेश खनालले क्रसर उद्योग सञ्चालनको सम्पूर्ण कागजात पेस गर्न पत्र पठाइएको बताए। नगरपालिकाले क्रसर उद्योगको अनुगमन गरी आवश्यक कागजात माग गरिएको बताए।

मरुभूमि हुने चिन्ता चुरे पर्वत हुँदै बग्ने खोलामा भइरहेको मापदण्डविपरीत उत्खननले तराई मरुभूमि हुने सरोकारवालाको चिन्ता छ। नदीमा आउने बाढीले पुलदेखि खेतीयोग्य जमिनलाई क्षति पुर्‍याउँदै आएको छ। बाढीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया नजिकको दुधौरा पुल पटक–पटक भासिएको छ। यस्तै, अवस्था बकैया, काँट र पसाहा तथा बालगंगा, अमलेखगञ्जका २ र ३ नम्बर पुल पनि संकटमा परेका छ। पुलको ५०० मिटर वरपरबाट बालुवा, ढुंगा निकाल्न नपाइने कानुनी व्यवस्था छ। पुल छेउछाउबाट बालुवा–ढुंगा निकाल्दा र नजिकै सुकुम्बासी बस्ती बसाउँदा राजमार्गका पुलमा क्षति पुगेको छ। पुलको छेउछाउबाट बालुवा र ढुंगा निकाल्दा वर्षाको बाढीले नदीको सतह अरू खोतलेर पुलको पिलरमा क्षति पुग्दा पुल भासिएको सडक डिभिजन कार्यालय हेटौडाका प्रवक्ता जयराम अधिकारीले बताए।
Read more at: http://thahakhabar.com/news/65175