निस्दीका सबै नाकामा रातभर सुरक्षा गार्डको निगरानी

जेठ ४ – निस्दी गाउँपालिकाले रातको समयमा आफ्नो क्षेत्रका मुख्य नाकाहरुमा निगरानी गर्ने भएको छ ।

लकडाउन जारी रहेपनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा रातीमा निगरानी गर्ने भएको हो । दिनमा स्थानीयले निगरानी गर्ने भएपनि रातको समयमा यातायातका साधन तथा मानिसहरुको आवत–जावत निगरानीका लागि गाउँपालिकाले पारिश्रमिक दिएरै सुरक्षा गार्डको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

प्रति व्यक्ति एक रातको ७ सय रुपैयाँ उपलब्ध दिएर सुरक्षा गार्डलाई निगरानीका लागी राख्ने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । गाउँपालिकाले प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, समन्वय समितिसँग छलफल गरी सुझाव अनुसार कार्यपालिकाको २२ औं बैठकबाट यस्तो निर्णय गरेको हो । गाउँपालिका क्षेत्र भित्रने १२ वटै नाकाहरुमा २/२ जना गरी २४ जना सुरक्षा गार्डको व्यवस्था गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताउनुभयो ।

सुरक्षा गार्डको लागि नाका भएका सम्बन्धित वडाको सिफारिसमा स्थानीयलाई खटाउने गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले जानकारी दिनुभयो । बाहिरबाट आउने मानिसहरु क्वारेन्टाईनमा बस्न दुख मानेर लुकिछिपी आउने हुँदा चुनौती थपिएको भन्दै गोरेटो, झोलुङ्गे पुल तथा सडक मार्ग भएर भित्रने नाकाहरुको २४ सै घण्टा निगरानीका लागि यस्तो व्यवस्था गर्न लागेको हो ।

प्रवक्ता सुनारीले दिनको समयमा नेपाली सेना, नेपाल प्रहरीसंगै स्थानीयहरुले नाकाको निगरानी गर्ने तर साँझ ६ बजे देखि बिहान ६ बजेसम्म पारिश्रमिक दिएरै सुरक्षा गार्ड परिचालन गर्न लागेको बताउनुभयो । गाउँपालिकाले सुरक्षाका लागि खटिने व्यक्ति चयन गरी लगतै काममा खटाउने जनाएको छ । गाउँपालिकाको दक्षिणी भुभाग वडा नम्बर १ मा रहेको बाकामलाङ्गको काम्दी खोला, राईका भञ्ज्याङ्, गेझा नाका, वडा नम्बर ३, झिरुबासको दमैखोला, सार्कीडाँडा, मुरालीखोला र डावरा नाकामा निगरानी बढाउने भएको हो ।

त्यसैगरी वडा नम्बर ४, मित्यालको जलुकेघाट, रिपाहा घाट, सारुडाँडा हुँदै मुढाबाँस आउने, धिर्केको डुनी डमार र वडा नम्बर ७, ज्यामिरेको भुटुक भङ्ज्याङ्गमा समेत सुरक्षा गार्ड खटिने भएका हुन् । गाउँपालिकाले स्वयंम सेवकको रुपमा सहयोग गर्न चाहने क्लव तथा संघ संस्थाहरुलाई वडा कार्यालय संग समन्वय गरी निगरानी, लकडाउनको पालनामा सहयोग गर्न आग्रह समेत गरेको छ ।

त्यस्तै वडा नम्बर ६, अर्चलेले पनी आफ्नो वडामा प्रवेश गर्ने मुख्य मुख्य नाकाहरुमा निगरानी गर्ने भएको छ ।

वडाध्यक्ष मेख बहादुर सुनारीले गाउँपालिकासंग जोडिएको नवलपरासीमा कोरोना संक्रमित व्यक्ति देखिए पछि वडाको दक्षिणी भाग बडरभङ्ज्याङ्ग नाकामा धोबला, अधमारा रनगुवाले, पुर्वीय भाग सिसाघाट नाकामा नारीभङ्ज्याङ्ग, अर्चले र सिमलडाँडाका युवाहरुले निगरानी गर्ने भएका हुन् ।

उत्तरी भाग रेचे पुल बजार नाकामा सात्दोबाट, चिदिया र सिसिङ्गाका युवाहरु खटिने भएका छन् । भौतिक दुरी कायम गरि प्रतिनिधि मूलक सहभागीतामा अत्यावश्यक कामका लागी मात्र बाहिर जाने निर्णय गरेको वडाका कार्यालय सहायक मित्र बहादुर सोमैले जानकारी दिनुभयो ।