पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गर्नुभएकाे छ ।
लामो समयदेखि चल्दै र सेलाउँदै आएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको धारणा सार्वजनिक गर्नुभएकाे हाे । “यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरू समक्ष अनुरोध गर्दछु”, महासचिव पौडेलले ट्वीटरमा उल्लेख गर्नुभएकाे छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताका सुत्रधार मानिएका पौडेल पछिल्लो समय एकता बचाउनका लागि निरन्तर सक्रिय भूमिका खेलिरहनुभएकाे छ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा लामो समय मतभेद रहँदा पौडेलले नै सम्पर्क सुत्रका रूपमा काम गर्दै संवादको वातावरण सिर्जना गर्दै आइरहनुभएकाे छ ।
पछिल्लो समय राजदूत नियुक्ति र कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध आएको अविश्वास प्रस्तावपछि अध्यक्षद्वयबीच उत्पन्न मतभेदमा उहाँले सक्रिय भूमिका खेलिरहेकाे देखिन्छ । करीब डेढ सातासम्म अध्यक्षद्वयबीच भेट नहुँदा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगै पौडेलले पनि खुमलटार पुगेर दाहालसँग भेट गर्नुभएकाे थियाे । त्यसपछि शनिबार दाहाल ओलीलाई भेट्न खुमलटार पुग्नुभएकाे हाे ।
पटक-पटक पार्टी एकतामा नै संकट आउने गरी विवाद हुँदा तुलनात्मक रूपमा कमै सार्वजनिक अभिव्यक्ति दिने पौडेलले व्यक्त गरेको चिन्ताले नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको संकेत गरेको छ।