नेपाल पत्रकार महासंघ पाल्पाकाे साधारणसभा सम्पन्न

पाल्पा- नेपाल पत्रकार महासंघ पाल्पाको १२ औं साधारण सभा तानसेनमा सम्पन्न भएको छ ।

साधारणसभाले सचिव किरण काैशलले प्रस्तुत गरेकाे सांगठनिक प्रतिवेदन, काेषाध्यक्ष मिलन विश्वकर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेकाे छ । लुम्बिनी मेडिकल कलेजकाे सहयाेगमा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कारकाे कार्यविधि पनि पारित गरेकाे छ । साधारणसभाले पत्रकारहरूकाे एउटा सहकारी स्थापना गरी सञ्चालन गर्न सैद्धान्तिक सहमति पनि प्रदान गरेकाे महासंघका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयाे ।

साधारण सभाका अवसरमा जिल्लामा क्रियाशिल १८ जना पत्रकारहरु पुरस्कृत भएका छन् । तानसेन नगरपालिकाको सहयोगमा स्थापना भएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया र रेडियो रामपुरका बासुदेव ढकाल पुरस्कृत हुनुभयो । उत्कृष्ट पत्रकारिता पुरस्कारकाे राशी १५ हजार, ताम्रपत्र र दोसल्लाले रहेकाे छ । साविक जिल्ला विकास समितिको सहयोगमा स्थापना भएको सिर्जनशील पत्रकारिता पुरस्कारबाट सनराइज टेलिभिजनका प्रबन्धक सन्तोष बस्याल , रेडियो रामपुरकी रमादेवी अर्याल, रेडियो मुक्तिनाथका स्टेशन प्रबन्धक भुवन रायमाझी र रेडियो मदनपोखराका समाचार बाचक विजय बौडेल नगद ७ हजार ५ सय र प्रमाणपत्रले सम्मानित हुनुभएको छ । रेडियो रामपुरकी बन्दना पोखरेल र रेडियो पाल्पाका इमानसिंह रानालाई ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रामपुर नगरपालिकाको सहयोगमा स्थापना भएको सो पुरस्कारको राशी १० हजार नगद र प्रमाणपत्र रहेको छ ।

यस्तै साेमनाथ अर्यालद्वारा स्थापित मानवअधिकार पत्रकारिता पुरस्कारबाट रेडियो मदनपोखराका बीरेन्द्र घिमिरे, बुद्धीप्रसाद शर्माको सहयोगमा स्थापना भएको देवीभक्त चोलकुमारी सामाजिक पत्रकारिता पुरस्कारबाट अनिल लिगल पुरस्कृत हुनुभयो ।  अधिकारकर्मी विनाेद पहाडीद्वारा स्थापित सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट गाउँले देउराली साप्ताहिकका तुलबहादुर थापालाई पुरस्कृत गरिएको छ । लेखनवृत्ति प्रोत्साहन पुरस्कार पत्रकारहरु यज्ञमूर्ति तिमिल्सेना, मुक्तिप्रसाद न्यौपाने, डोलबहादुर विक, दीपक भट्टराई, दयाराज न्यौपाने, विष्णुप्रसाद घिमिरे र भोजराज तिमिल्सेनालाई प्रदान गरिएको छ । 

साधारण सभाको केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष आचार्यले पत्रकार महासंघ प्रेस स्वतन्त्रता संगै राष्ट्रिय हित देखि नागरिक हितको पक्षमा पैरवी गर्ने संस्था रहेको बताउनुुभएको छ । उहाँले महासंघ नेपालको पहिलो नागरिक अगुवा संस्था रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्रको हकहित र अधिकार, मिडिया हकहित, प्रेस स्वतन्त्रता, राष्ट्रिय हित र नागरिक हितमा एड्भोकेसी गर्ने संस्था नेपाल पत्रकार महासंघ हो ।”

नेपाल पत्रकार महासंघकाे पाल्पा शाखा नेपालमै पत्रकारिता देशमै उदाहरणीय शाखाका रूपमा रहेको बताउनुभयो । इमान, जमान र नैतिकताको पाठ सिक्न पत्रकार महासंघ पाल्पा शाखा जस्तो हुनुपर्छ भन्ने देशभरीनै चर्चा हुने गरेका अध्यक्ष आचार्यको भनाई थियाे । उहाँले स्वाभिमानी पत्रकारको शाख जोगाउन तल्लिन शाखा अध्यक्ष राजेशकुमार अर्याललाई समेत बधाई तथा धन्यवाद दिनुभयो । कोही संग तेल माग्दैन, केही माग्दैन, तल माथि गर्देन भन्ने सन्देश नेपाल भरी फैलिएको भन्दै अध्यक्ष आचार्यले पत्रकार महासंघको जीवनमा पाल्पा शाखाले रणनैतिक महत्व बोकेको बताउनुभयो ।

साधारण सभामा संस्थापक अध्यक्ष मेघराज शर्माले प्रविधिको विकास भए पनि पत्रकारको समस्या उस्तै रहेको भन्दै यसतर्फ सोच्ने समय आएको बताउनुभयो ।  लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले पत्रकारिताले द्वन्द बढाउने नभई समाधान गर्ने तर्फ अग्रसर हुन आग्रह गर्नुभयो । तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले पत्रकारिता क्षेत्रको विकासको लागि सरोकारवालाहरुले सोच्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो समय शक्तिको भरमा कुनै पनि कुरा सत्यमा रुपान्तरण हुने हो कि भन्ने त्रास बढेको भन्दै सचेत हुनु पर्ने बताउनुभय‍ो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरिले पाल्पाली पत्रकारिताले समग्र मुलुकको पत्रकारिताको गरिमा उच्च बनाएको बताउनुभयो ।

रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले नयाँ प्रतिभालाई उजागर गर्दै संस्थागत विकासमा जानु पर्ने बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले पाल्पाली पत्रकारिताले विकास संगै सुशासनको लागि महत्वपूर्ण योगदान दिएको बताउनुभयो । नेपाली कांग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्यले मुलुक हरेम परिवर्तनमा पत्रकारिता क्षेत्रले खेलेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रेवन्त बहादुर विष्ट र राष्ट्रिय जनमोर्चा पाल्पाका नरमति सिंजालीले राजनैतिक भन्दा बाहिर रहेर पत्रकारिता गर्दै समाजको विश्वास जितेर काम गर्न आग्रह गर्नुभयो । गैर सरकारी संस्था महासंघका भेषराज तिमिल्सिना, नेपाल रेडक्रस सोसायटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्मा, युनाईटेड मिसन अस्पतालका अध्यक्ष डाक्टर रचेल कारक, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिंह कार्की, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, शिक्षक महासंघ पाल्पाका अध्यक्ष देवी प्रसाद भट्टराई, प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपाने, ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाका कार्यकारी निर्देशक लिला कार्कीले विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको विचार व्यक्त गर्नुभयाे। पुरस्कृत पत्रकार मध्ये बाट देव पचभैयाले अब पत्रकारहरुको भविष्यवृतिको लागि सोच्नु पर्ने समय आएको बताउनु भयो । नेपाल पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष झपेन्द्र गहिरेले पुरस्कारको घाेषणा गर्नुभएको थियो ।

साधारण सभा उपाध्यक्ष भरत शर्माको स्वागत, किरण कौशलको सञ्चालन र नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षतामा चलेकाे थियाे ।