जेठ २६ – तानसेन नगरपालिकाले चालु वर्ष विग बुद्ध परियोजनामा विनियोजन गरेका बजेट धमाधम रकमान्तर गरिरहेको छ ।
चालु वर्षमा विग बुद्ध परियोजनाको काम अगाडि नबढेपछि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार र विभिन्न नयाँ योजनामा रकम रकमान्तर गरेको छ । नेपाल सरकारले शसर्त बाहेकका योजना रकमान्तर गरी स्वास्थ्य सुरक्षा अपनाउन स्वीकृति प्रदान गरेको छ । तानसेन नगरपालिकाको पछिल्लो कार्यपालिकाको बैठकले बर्तुङ नयाँपाटी सडक बिस्तारका लागि ९९ लाख ५० हजार रकम रकमान्तर गरेको हो ।
यसैगरी त्रिभुवन बहुमुखी क्याम्पस बतासेडाँडामा मोटरबाटो छेउमा पर्खाल लगाउन आवश्यक बजेट रकमान्तर गर्ने निर्णय गरेको छ । विग बुद्ध परियोजनाको विपी स्मृति पुस्तकालयका लागि ५ लाख, ज्ञानमाला संघ आनन्द बिहारलाई १ लाख, पत्रकार विमामा ५७ हजार ४० र सनराइज टेलिभिजनलाई ५० हजार रकम रकमान्तर गरिएको छ ।
नगरपालिका आफै र समुदायले सञ्चालन गरेका क्वारेन्टाइनमा पनि रकम रकमान्तर गरिएको छ । कार्यपालिकाको बैठकले सामुदायिक क्वारेन्टाइन सञ्चालनका लागि वडामा विनियोजन भएको तर काम हुन बाँकी योजना तथा कार्यक्रमको रकम रकमान्तर गर्न सैद्धान्तिक सहमति दिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।
तानसेन ८ र ९ ले सामुदायिक क्वारेन्टाइनका लागि १÷१ लाख रुपैँया रकमान्तर गरिसकेका छन् । अधिकांश वडाले पनि आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी विभिन्न योजनामा खर्च हुन नसकेका रकम अन्य योजनामा रकमान्तर गरिरहेका छन् ।
नगरपालिकाले सञ्चालन गरेको दुई प्रकारका क्वारेन्टाइन मध्ये समुदायले सञ्चालन गरेका क्वारेन्टाइन वडा तहमा रहेको र खाना तथा आवासको प्रबन्ध कमजोर रहेको देखिन्छ ।