विजयकुमार बौडेल
चैत २३ – तानसेन नगरपालिका वडा नं. ९ ले पारिवारिक संख्याको आधारमा मापदण्ड छुट्याएर राहत वितरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बाट बँच्न सरकारले लकडाउन लागु गरेपछी छाक टार्न मुस्किल भएका विपन्न परिवारलाई वडा नं. ९ ले मापदण्ड छुट्याएर राहत वितरण गरेको हो । राहत वितरण गर्दै प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले यो विपत्तीको समयमा सबै मिलेर दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई सहयोग गर्नुपर्ने बताउनुभयो । आचार्यले सबै संघसंस्थाहरु मिलेर सरकारको अभियानमा सघाउन अनुरोध गर्नुभयो ।
वडा नं. ९ ले ४ जना सम्मको परिवारलाई छुट्टै र ४ जना भन्दा धेरै सदस्य भएको परिवारलाई छुट्टै परिमाणमा राहत वितरण गरेको वडाध्यक्ष हरीसुमर रेग्मीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति सदस्य तुल बहादुर गाहाले जनप्रतिनिधीको हैसियतले हरेक गरिब परिवारको रक्षा गर्नुपर्ने दायित्व भएको भन्दै जस्तोसुकै अप्ठेरो पर्दा स्थानिय तहलाई सम्झन अनुरोध गर्नुभयो ।
तानसेन नगरपालिकाका प्रमुख असोक कुमार साहीले एकै खालले राहत वितरण गर्दा धेरै सदस्य हुने परिवारलाई गुजारा चलाउन गाह्रो हुने भएकाले संख्याको आधारमा मापदण्ड बनाएर राहत वितरण गरेको बताउनुभयो । नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले जस्तोसुकै कठिन परिस्थीतिम कोही पनी मजदुर परिवार भोकै बस्न पर्ने अवस्था आउन नदिने बताउनुभयो ।
४ जना भन्दा बढी सदस्य भएका १५ र ४ जना सम्म सदस्य भएका ९० गरि जम्मा १ सय ५ घरपरिवारलाई राहत वितरण गरेको वडा सचिव मदन भण्डारीले जानकारी दिनुभयो । वडाले ४ जना सम्मको परिवारलाई चामल १५ किलो, केराउको दाल १.५ केजी, नुन १ केजी, तोरीको तेल १ लिटर, चिनी १ किलो, हात धुने साबुन २ वटा र कपडा धुने साबुन २ वटा वितरण गरेको वडा सदस्य विनिता लुईंटेलले बताउनुभयो ।
त्यस्तै ४ जना भन्दा धेरै जना भएका परिवारलाई ३० केजी चामल, दाल ३ केजी, नुन २ केजी, तोरीको तेल २ लिटर, चिनी २ किलो, हात धुने साबुन २ वटा र कपडा धुने साबुन २ वटा वितरण गरेको वडा सदस्य यमकुमारी बौडेलले जानकारी दिनुभयो ।
तानसेन नगरपालिकाले हरेक वडाबाट राहत वितरण गर्दै आईरहेको छ ।