पाल्पा । सिद्धार्थ राजमार्गमा पहिरो खसेर सडक छेउमा जम्मा भएका ढुंगा गिट्टी चोरी निकासी हुने गरेको छ ।
पाल्पा बुटवल सडकअन्तर्गत गौडेपुल र डुम्रेको बीचमा खसेको पहिरोको ढुंगा र गिट्टी चोरी निकासी भएको हो । सडकका कर्मचारीले अघोषित रुपमा बिक्री गरेपछि चोरी निकासी भएको स्थानीय बासिन्दाको भनाई छ । सडक डिभिजन कार्यालयका इन्जिनियर राम पियारी चौधरीले ढुंगा चोरी भएको र चोरी भएको थाहा पाएपछि आफूहरुले प्रहरी र कर्मचारी पठाएर रोकेको बताउनुभयो ।
सडक बिस्तार गर्दा निस्केको ढुंगा गिट्टी निर्माण स्टमेट समावेश भए व्यवसायीले प्रयोग गर्ने प्रचलन छ तर पहिरोले ल्याएका सयौँ घनमिटर ढुंगाबाट सरकारले राजश्व संकलन गर्न सक्दछ । राजमार्गकै मर्मत संभारको काम पाएको निर्माण व्यवसायीले पहिरोमा निस्केको ग्राभेल सडकमा हाल्न नपाएको तर पहिरोको गिट्टीमाटो र ढुंगा धमाधम बिक्री हुने गरेको स्थानीय जनताले बताएका छन् ।
तानसेन नगरपालिकाका राजश्य शाखाका अधिकृत मधुसुधन घर्तीले नगरपालिकामा रोयल्टी पनि नकाटिएको र समन्वय पनि नभएको बताउनुभयो । वर्षायाममा गौडेपुलभन्दा ५ सय मिटर माथि पहिरो खसेर लामो समय सडक अवरुद्ध हुँदै आएको थियो । सार्वजनिक महत्वको सडकको ढुंगा, गिट्टी र वालुवा बिक्री हुँदा स्थानीय सरकार मौन बस्ने गरेका छन् ।
सार्वजनिक सम्पत्तिको रुपमा रहेका सडकबाट ढुंगा माटो बिक्री गरी निकासी हुँदा स्थानीय सरकारले रोयल्टी सम्म उठाएका छैनन् । सडक छेउमा रहेका ढुंगा गिट्टी चोरिने र लुकिछिपी बेचिने चलन नौलो भने होइन । झुम्सा, दोभान, हिउँदेखोलामा पहिरोले ल्याएका ढुंगा यसैगरी हराइरहेका छन् । सडक मापदण्ड ८२ फुटभित्रकै माटो काटेर बेचबिखन हुँदासमेत अनुगमनकारी निकाय बेखबर बनेका छन् ।
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक सुधार तथा मर्मतमा मात्र चालु आर्थिक वर्षमा ३९ लाख रुपैँया खर्च भएको छ । वर्षाको पहिरो हटाउन ३४ लाख ५० हजार रुपैँया तेल खर्च र ४ लाख ४८ हजार रुपैँया कर्मचारी भत्ता र खानामा मात्र खर्च भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताउनुभयो । पछिल्लो तीन वर्षमा मात्र राजमार्ग सुधारमा १७ करोड ४९ लाख रुपैँया खर्च भएको छ ।