पाल्पाको देउराली र ख्याहाको सिमानामा मंगलबार अपराह्नदेखि डढेलो लागेको छ 

 गाउँपालिका–१ र २ को संसारकोट डाँडामा लागेको डढेलो निभाउने प्रयास जारी रहे पनि नियन्त्रणमा आउन नसकेको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिएका छन् ।

हार्थोकदेखि देउराली हुँदै ख्याहा जोड्ने सडकअन्तर्गत तल्लो र माथिल्लो भागमा अपराह्न १ बजेतिरबाट डढेलो सुरु भएको हो । सल्लाको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा, जनप्रतिनिधि खटिएका छन् ।

ख्याहाको गैरागाउँ, देउरालीको पोखरडाँडा, लघुवा, डम्बक लगायतका गाउँ डढेलोको जोखिममा रहेको छ । खानेपानीको मुहान, ट्यांकी, विद्युत् ट्रान्सफर्मर जोगाउन सकिए पनि नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताए । वडाध्यक्ष पोखरेलका अनुसार देउरालीको पोखरडाँडा क्षेत्र जोखिममुक्त भएको छ भने ख्याहाको गैरागाउँ, देउरालीको डम्बक र लघुवा अझै पनि जोखिममा रहेको छ । डढेलो ख्याहाको मधुवन सामुदायिक वन र देउरालीको लेक सामुदायिक वन क्षेत्रमा लागेको रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । दुई वटा सामुदायिक वनका झण्डै १० हेक्टर डढेलोले सखाप पारिसकेको र जंगलमा अझै डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ

कार्यालयका अनुसार डढेलो नियन्त्रणका लागि प्रयास भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले बताए । ‘नियन्त्रणको प्रयास जारी राखेका छौं,’ उनले भने, ‘एउटा बस्ती जोगाइएको छ । थप बस्तीलाई जोखिमबाट बचाउने प्रयास गरेका छौं ।’