विजयकुमार बौडेल –
बोली । १ जेठ – अधिकांश स्थानमा मलको हाहाकार भईरहेको बेला पाल्पाका किसानले तरकारी, मकै र धानमा पर्याप्त मल प्रयोग गर्न पाएका छन् ।
पाल्पाका किसानले आवश्यक परेको बेला मलको अभाव भोग्नु परेको छैन । जमिन बाँझो राखे जरिवानाको निति बनाउने चर्चा चलिरहेको बेला किसानलाई उत्पादनमा सघाउन समयमै पर्याप्त मलको व्यवस्था छ । अघिल्लो बर्ष पाल्पामा कृषी सामग्री कम्पनी लिमिटेड उपसाखाले गाउँगाउँका ५७ सहकारीहरु मार्फत डिएपी, युरिया र पोटास वितरण गरिरहेको थियो । मल विक्रि गर्नको लागी हरेक सहकारीले कृषी सामग्री कम्पनी लिमिटेडमा विक्रेता नविकरण गर्नुपर्छ । पाल्पामा अघिल्लो बर्ष बिक्रि गरिरहेका ५७ सहकारी मध्ये १२ सहकारीले नविकरण गरेका छैनन् । अन्य बाँकीले नविकरण पश्चात बिक्रि गरिरहेका छन् ।
किसानलाई प्रोत्साहन गर्न सरकारले मल खरिदमा ४७ प्रतिशत अनुदान दिने व्यवस्था छ । जसअनुसार कृषि सामग्री केन्द्रले खरिद गरि आआफ्नो डिपोबाट गाउँगाउँका सहकारीलाई बिक्री गर्छ । पाल्पा उपसाखामा अहिले सम्म १५० टन डिएपी, १५० टन युरिया र १० टन पोटास सञ्चित रहेको उपसाखा कार्यालयका प्रबन्धक सुमन पन्थीले जानकारी दिनुभयो । “अहिले मकै खन्ने बेला हो, यो बेला युरियाको एकदमै धेरै माग हुन्छ ।” प्रबन्धक पन्थीले भन्नुभयो । “अन्य जिल्लामा त अहिले अति हाहाकार छ । अली बेलैमा सोंचेर सञ्चित गरेको भएर यो बर्षलाई पुग्छ भन्नेमा ढुक्क छु ।”
कृषी सामग्री कम्पनी लिमिटेडबाट सहकारीहरुले डिएपी प्रतिकिलो ४३.८७ रुपैंया, युरिया प्रतिकिलो १४.८७ रुपैंया र पोटास प्रतिकिलो ३१.८७ रुपैंयामा खरिद गर्ने गर्दछन् । तानसेन नगरपालिका वडा नं. ९ दमकडाको उद्यमशिल कृषक बहुउद्देशिय सहकारी संस्था लिमिटेडका अध्यक्ष देवराज अर्यालले आफ्नो सहकारीले लोड, अनलोड र ढुवानी खर्च मात्र जोडेर उपभोक्तालाई बिक्रि गर्ने बताउनुभयो । “हामी ढुवानी, लोड र अनलोडको बाहेक अरु एक पैसा पनी किसान बाट लिँदैनौ ।” अध्यक्ष अर्यालले भन्नुभयो । “हामीकहाँ गोदामको समस्या छ । १०० बोरा मात्र अट्छ, त्यही पनी किसानलाई समस्या नहुने गरि व्यवस्थापन गरेका छौं ।”
उद्यमशिल कृषक बहुउद्देशिय सहकारी संस्था लिमिटेड बाट अहिले किसानले चाहिएजती मल पाएका छन् । किसानले उद्यमशिल सहकारी बाट डिएपी प्रतिकिलो ५०, युरिया २२ र पोटास ३५ रुपैंयामा प्राप्त गर्छन ।
किसानहरुले मल नपाएर महंगो दरमा व्यापारिक एग्रोभेट बाट किनेर हाल्नु परेको छैन । सरकारको अनुदानमा पर्याप्त मल पाउँदा पाल्पामा यो बर्ष उत्पादन समेत बढ्ने अनुमान गरिएको छ । अनुदानमा पर्याप्त मल पाएपनी भारतबाट तरकारी आउँदा उत्पादित तरकारीले मुल्य भने नपाउने किसानहरुको गुनासो छ ।