पाल्पामा राजमार्ग, बिजुलीवत्ती र इन्टरनेट अवरूद्ध

पाल्पा । विगत तीन दिनदेखि राजमार्ग, बिजुली, टेलिफाेन र इन्टरनेट अवरूद्ध भएका छन् । असाेज महिनामा परेकाे अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग र दाेभान क्षेत्रमा खसेकाे पहिराेका कारण सडक, बिजुली, टेलिफाेन र इन्टरनेट सेवा प्रभावित भएका हुन् । 

सडक अवरूद्ध, यात्री अलपत्र 

तीन दिनदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमा रोकिएका छन् । टाढाटाढा हिडेका यात्रुसमेत अलपत्र परेका छन् । पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडकखण्डअन्तर्गत आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ । शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि सम्भव नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बताउनुभयाे ।

‘पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने अवस्था छ,’ उहाँले भन्रुभयाे, ‘ब्रेकर बुटवलतर्फ भएकाले तत्काल ढुंगा फोर्न सक्ने अवस्था छैन।’ ठूलाठूला चट्टानसहित सडकमाथिबाट पहिरो खसेको छ । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ। डुम्रेतर्फको राजमार्गमा ठूला ढुंगासहित पहिरो झरेको छ । आइतबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयाे । तर, आज पनि कतिबेला सञ्चालन हुन्छ भन्ने यकिन नभएको उहाँको भनाइ छ ।

बिजुली वत्ती अवरूद्ध, सञ्चारमाध्यमसमेत प्रभावित 

भारी वर्षातका कारण पाल्पाको विद्युतकाे प्रसारण लाइन अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले सूचना प्रकाशन गरी बिजुली वत्ती नआएको  जनाएकाे छ । प्राधिकरण पाल्पाका प्रमुख सुशिल  ले बुटवल पाल्पाकाे प्रशारण लाइनकाे वसन्तपुर झुम्सा खण्डमा टावर र लाइन नै बगाएर अत्यधिक ठूलाे क्षति गराएकाे बताउनुभयाे । उहाँले सामग्री ढुवानी गर्न सडक नखुलेकाे र मर्मतका लागि केही दिन लाग्न सक्ने भएकाले वैकल्पिक व्यवस्था मिलाइएकाे जानकारी दिनुभयाे । प्राधिकरणले झिमरूक गुल्मी, रिडीकाे लाइन जाेडेकाे छ । सीमित क्षमताकाे वैकल्पिक लाइन जाेडेका कारण पिक आवरमा बिजुली बन्द छ । बिजुलीकाे अनियमितताका कारण टेलिफाेन र माेवाइल सेवा पनि काटिएका छन् ।  सञ्चार माध्यम रेडियाे, टेलिभिजनका प्रसारण पनि प्रभावित छन् । 

टेलिफाेन चल्दैन 

विद्युत सेवा अवरुद्ध भएसँगै टेलिफाेन र माेवाइलले काम गरेका छैनन् । इन्टरनेटको फाइवर कनेक्सन चुडिएको कारण नेटवर्क र इन्टरनेटसेवामा समेत अवरोध आएको छ । नेपाल टेलिकमले सूचना निकालेर ९ गते राती तिनाउँ गाउँपालिकाको दोभान जंगल क्षेत्रमा गएको पहिरोको कारण फाइवर चुडिएकोले तानसेन लगायतका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ । माेवाइल टावरहरूमा बिजुलीकाे ब्याक अप नहुँदा माेवाइलले काम गरेका छैनन् ।

इन्टरनेट सेवा सुस्त 
प्रायः सबै इन्टरनेट सेवा बन्द छन्, चलेका पनि सुस्त  छन् ।  इन्टरनेटमा आधारित व्यवसायले काम गर्न सकेका छैनन् । सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । टेलिकम, वर्डलिंक, व्रोर्डलिंक, सुविसु, इष्टलिंक लगायतका कम्पनीको इन्टरनेट सेवा भएता पनि उनीहरुको स्पीड स्लो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । उपभोक्ताहरुले तोकिएको क्षमता भन्दा निकै कम स्पीडको इन्टरनेट आउने, बेला बेलामा आउने जाने हुने, आएपनि चल्दै नचल्ने समस्याले सास्ती भोगेको बताएका छन् ।