तानसेन । पाल्पा अस्पताल अनिश्चितकालका लागि लागि बन्द गरिएको छ ।
पाल्पा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको हो । आकस्मिक सेवा लिन आउने विरामीको स्वास्थ्यजाँच भने हुने अस्पतालले जनाएको छ । अस्पतालका निमिक्त प्रमुख डा. जगदीश कुवँरका अनुसार चिकित्सकसहित कार्यालय सहयोगी र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जोखिम न्यूनिकरणका लागि सेवा बन्द गरिएको बताउनुभयो ।
पाल्पा अस्पतालले असोज २७ गते स्वास्थ्यकर्मी, कर्मचारी, बिरामीसहित ९ जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी पठाइएको थियो । पीसीआर रिपोर्टमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित ७ मध्ये ४ जना अस्पतालका कर्मचारी र अन्य ३ जना उपचारका लागि आएका बिरामी रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
संक्रमण देखिएपछि सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्येनजर गर्दै गरिएको सेवा बन्दले केही दिन बिरामीमा पर्न जाने असुविधाप्रति अस्पताल क्षमाप्रार्थी छ, अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताउनुभयो । चाडबाड नजिकिदैँ जाँदा पाल्पामा कोरोना संक्रमणको दर बढ्न थालेको छ ।