
विजयकुमार बौडेल –
फागुन ७ – पाल्पा महोत्सव २०७६ मा होटल स्टल सञ्चालन गरि टपरिमा स्वादिष्ट मम बिक्रि गर्नुभएका डुम्रे ममका सञ्चालक कमल दर्लामी सन्तुष्ट हुनुहुन्छ ।
महोत्सवमा ममको उत्कृष्ट स्वाद दिएर ग्राहकहरुलाई सन्तुष्ट बनाएरै दर्लामी व्यापारमा सन्तुष्ट हुनुभएको हो । अरु बेला तानसेन नगरपालिका वडा नं. ८ डुम्रेमा होटल व्यवसाय गर्दै आउनुभएका दर्लामी महोत्सवमा भएको व्यापारदेखी निकै सन्तुष्ट हुनुहुन्छ । उत्कृष्ट र ग्राहकलाई सन्तुष्ट पार्न सके व्यापारमा समस्या नहुने सञ्चालक दर्लामीको भनाई छ ।

ग्राहकले सफा, शुद्ध र स्वादिलो खानेकुरा खोज्ने भन्दै दर्लामीले सबै कुरामा ख्याल गर्न सके व्यापार हुने बताउनुभयो । “दैनिक २० देखी ३० हजार सम्मको व्यापार सहजै भएको छ । एक पटक मेरो स्टलमा आउनुभएका ग्राहक अर्को पटक अन्यत्र जाँदैनन् ।” सञ्चालक दर्लामीले भन्नुभयो । “ग्राहकको सन्तुष्टि नै हाम्रो व्यापारको प्रमुख उद्देश्य हो । व्यापार देखी म सन्तुष्ट छु ।” पातको टपरिमा स्वादिष्ट मम खान पाउँदा मेला हेर्न आउने ग्राहकहरु खुसी भएको दर्लामीको भनाई छ ।
वातावरणिय शुद्धताका लागी पनी पातको टपरिको प्रयोग हुनु खुसीको कुरा भएको मुल आयोजक समितिका संयोजक तथा पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताउनुभयो । डुम्रे ममका सञ्चालक कमल दर्लामीले मम बाहेक चाउमिन, ललिपप, चिप्स लगाएतका चिजविज विक्रि गर्नुभएको छ ।

पाल्पा महोत्सव २०७६ का स्टल संयोजक कमल ढकालले ग्रामिण क्षेत्रमा सञ्चालन भएको महोत्सवले नागरिकहरु उत्साहित भएको बताउनुभयो । “नागरिकहरुको उत्साहजनक उपस्थिती रहेको छ । महोत्सवको सुरुवातमै मेला अवलोकन गर्नेहरु उल्लेख्य मात्रामा आएका छन् ।” संयोजक ढकालले भन्नुभयो । “मेला हेर्न आउनेहरु धेरैले अहिले सामग्री हेर्ने र पछी किन्ने गरेका छन् । जहाँको मेलामा पनी सातौं, आठौं दिनपछी मात्र उत्कृष्ट व्यापार हुने गर्छ ।” पाल्पा महोत्सव २०७६ को सुरुवातकै अवस्थामा व्यापारको अवस्था सन्तुष्टिजनक रहेको ढकालको भनाई छ ।
पाल्पा महोत्सव २०७६ को सातौं दिन प्रकाश सपुत, विष्णु ठडराई, हुम गैरे लगाएतले प्रस्तुती दिएका छन् । महोत्सवमा दैनिक उत्कृष्ट कलाकारहरुले प्रस्तुति दिएको सांस्कृतिक संयोजक थानेश्वर गैरेले बताउनुभयो । गैरेले राष्ट्रिय कलाकार सहित पाल्पाका स्थानिय र गाउँ गाउँका संस्कृतीहरुलाई स्थान दिएको बताउनुभयो ।

महोत्सव सोंचेभन्दा निकै सफल भएको नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । “गाउँगाउँबाट दर्शकहरु आएका छन् । स्थानिय क्षेत्रका व्यक्तिहरुले पनी मेला सफल पार्न निकै सहयोग गरेका छन् ।” अध्यक्ष अर्यालले भन्नुभयो । “महोत्सव सबैको सहयोगले सहज रुपमा सफल भएको छ । अव बाँकी दिनहरु पनी अझ व्यवसायिक हुने अपेक्षा गरेका छौं ।” मेला व्यवस्थापन चुस्त दुरुस्त रुपमा अघी बढेको अर्यालको भनाई छ ।