पीपलडाँडाकाे पहिरो पन्छाउने क्रम जारी, मानिस अझै फेला परेन

पाल्पा । रम्भा गाउँपालिका ३ पीपलडाँडामा एक जना पुरुषलाई पहिरोले च्यापिएको आशंकामा सशस्त्र प्रहरीले खोजी कार्यलाई जारी राखेको छ ।

शिखरडाँडाको पहिरोमा पीपलडाँडाका ३३ वर्षिय राजकुमार थापा मगर च्यापिएको आशंकामा स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी तथा उद्दार कार्य गरेका छन् । राजकुमार थापा दाउरा काट्न हिडेको र हालसम्म सम्पर्क बिहिन भएकाले पहिरोले च्यापेको आंशका गरिएको हो । शिखरडाँडामा सुख्खा पहिरो खसेको स्थान नजिकै दाउराको भारी भेटिएको छ ।

 

सशस्त्र प्रहरी बल पाल्पाका प्रहरी नायव उपरीक्षक अरुणकुमार सिंहले उद्दारका सामग्रीसहित विगत ६ दिनदेखि सशस्त्र प्रहरी निरीक्षक हिराबहादुर बोहोराको नेतृत्वमा खोजी र उद्दार कार्य जारी राखेको बताउनुभयो । पहिरो गएको ठाउँ साँघुरो र भिरालो भएकाले डोजर र स्क्याभेटर प्रयोग गर्न मिलेको छैन । प्रहरी र स्थानीय जनताले गैटी कोदालोले खन्दा खोजीमा ढिलाई भएको सशस्त्र प्रहरी निरीक्षक हिराबहादुर बोहोराले जनाकारी दिनुभयो ।

 

 

 

 

जिल्ला प्रशासन कार्यालय पाल्पाले पहिरोको जटिलतालाई मध्येनजर गरेर विपद् व्यवस्थापनमा तालिम प्राप्त सशस्त्र प्रहरीको टोली झिकाइएको हो । सेना प्रहरीसँगै स्थानीय समुदायले खाेजी कार्यमा निरन्तर सघाएका छन् । बोहोरा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा कार्यरत हुनुहुन्छ ।