रिङ्नेरह । पूर्वखोला गाउँपालिकाले प्रत्येक नागरिकलाई पीसीआर परीक्षण गराएर मात्र गाउँपालिकाभित्र प्रवेश गर्न दिने भएको छ ।
बडादशैं लगत्तै गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्ने स्थिति देखेपछि गाउँपालिकाले आज यस्तो सूचना जारी गरेको हो । पूर्वखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन ढकालले ७२ घण्टाभित्रको अनिवार्य पीसीआर रिपोर्ट र स्वास्थ्य मापदण्ड पालना गरेर आउने नागरिकालाई गाउँपालिका प्रवेश गर्न दिने नीति तय गरिएको बताउनुभयो । गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा सर्वसाधारण सबैलाई पीसीआर रिपोर्ट लागू हुने गरी सार्वजनिक महत्वको सूचना जारी गरेको छ ।
सार्वजनिक महत्वको सूचनाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्ड पालना नगरेका व्यक्तिलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने गाउँपालिकाले व्यवस्था गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले सूचनाको अवज्ञा गरे संक्रमण रोग ऐन २०२० वमोजिम कारवाहीका लागि सिफारिश गर्ने पालिकाले निर्णय गरेको जानकारी दिनुभयो ।
पूर्वखोलामा अहिले २७ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन् । संक्रमितमध्ये होम आइसोलेसनमा २, पालिकाको आइसोलेसनमा २३ र अस्पतालमा २ जना रहेका छन् । वडा नं २ मा ४, वडा नं. ३ मा १५, ४ मा २, ६ मा १ र कर्मचारी ५ जना संक्रमित छन् । पूर्वखोलामा हालसम्म २ सय ११ जना संक्रमित भएका छन् भने २ जनाको कोरोनाकै कारण मृत्यू भएको छ ।