पुष्पलाल पत्रकारिता पुरस्कार परराष्ट्रविद्व श्रेष्ठलाई प्रदान


काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार आज परराष्ट्रविद् वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पुष्पलालका समकालीन तथा वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिएको हो । पुष्पलाल स्मृति राष्टिय पत्रकारिता पुरस्कार कोष तानसेन नगरपालिकाले स्थापना गरेको हाे ।  राष्ट्रपति भण्डारीले श्रेष्ठलाई नगद, सम्मानपत्र, पाल्पाली ढाकाटोपी, ढाकाकै दोसल्ला ओढाएर श्रेष्ठलाई सम्मान गर्नुभयो ।

राष्ट्रपति भण्डारीले पूर्व राजदुत एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई बधाई दिनुभएको छ । तानसेन नगरपालिकाले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको नाममा स्थापना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कारका निम्ति धन्यवाद दिनुभयो । पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैंया रहेको छ । काेषले वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई पुष्पलालको नाममा स्थापना भएको सबैभन्दा ठूलो राशीको पुरस्कार प्रदान गरेको छ ।

तानसेनमा आयोजना गर्ने भनिएको पुरस्कार वितरण समारोह कोभिड १९ का कारण शीतल निवासमै आयोजना गरिएको कोषका अध्यक्ष शम्भु श्रेष्ठले बताउनुभयो । समारोहमा कोषका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ र कोषका सदस्य सचिव गोविन्द भट्टराईको उपस्थिति रहेको थियो । पुष्पलालको जन्मदिनमा प्रदान गर्ने भनिएको पुरस्कार कोभिड १९ का कारण आज मात्र वितरण गरिएको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सम्माननीय राष्टपतिबाट पुष्पलालका समकालीन व्यक्तित्व हिरण्यलाल श्रेष्ठ सम्मानित हुनु खुशीको कुरा भएको बताउनुभयो । नगरपालिका प्रमुख शाहीले भन्नुभयो, ‘पुष्पलाल, वीपी, मदन भण्डारीलगायत शीर्षस्थ नेताहरुको योगदानको कदरस्वरुप हामीले सक्दो काम गर्दै जानेछौँ ।’