पूर्वखोलामा नि:शुल्क मुटुरोग स्वास्थ्य शिविर

पाल्पा । पूर्वखोला गाँउपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको संयुक्त आयोजनामा मुटुरोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर पाल्पाकाे रिङ्नेरहमा सम्पन्न भएको छ ।

पूर्वखोला गाँउपालिकाकाे रिङ्नेरहस्थित कोभिड-१९ अस्पतालमा दुई दिनसम्म चलेको  शिविरमा ५ सय २५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वको १५ जनाको समूहले पूर्वखोला गाउँपालिकाभित्रका नागरिकहरूकाे स्वास्थ्य परीक्षण गरेको छ। शिविरमा ससाना बालबालिका देखि ८५ बर्षमाथिका जेष्ठ नागरिकको समेतले मुटु स्वास्थ्यकाे जाँच गरेका थिए ।

बरिष्ठ मुटुराेग विशेषज्ञ डा. रेग्मीले परीक्षणका क्रममा १५० जनाको इको, १७५ जनाको इसीजी गरेको बताउनुभयाे । उहाँले परीक्षण गरिएकामध्ये ५० प्रतिशत बढीलाई मुटु र मधुमेह सम्वन्धी स्वास्थ्य समस्या देखिएको जानकारी दिनुभयाे । शिविरमा सर्वसाधारणको जनरल चेकअप, ईको, ईसीजी, व्लड सुगर टेष्ट, व्लड प्रेसर टेष्ट गरी निशुल्क औषधि सेवा उपलव्ध गराइएको थियो ।

गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले गाँउबासीलाई स्वास्थ्य सम्वन्धी जनचेतना जगाउन तथा स्थानीय तहमै विशेषज्ञ सेवा उपलव्ध गराई परीक्षण सेवा उपलव्ध गराउन शिविरको आयोजना गरिएको बताउनुभयाे । उहाँले शिविरमा आएका धेरै जनाले पहिलो पटक आफूमा मुटु सम्वन्धी समस्या भएको थाहा पाएको भन्दै शिविरको महत्व झनै बढेको छ भन्नुभयाे । मुटुराेग विशेषज्ञ रेग्मीले भन्नुभयाे, ‘गाँउ नै भएपनि पछिल्लो पटक फेरिएको जीवनशैलीले हुनसक्छ । यहाँ पनि नसर्ने रोगको अवस्था गम्भीर नै देखियो । धेरैलाई उच्चरक्तचाप, कोलेस्टेरोल, डायविटिज लगायतका समस्या रहेछ । अझ हामीले स साना बालबालिकाहरुको धेरै परीक्षण गर्न पाएनौं । फेरिएको जीवनशैली तथा खानपानले गर्दा हुनसक्छ अहिले गाँउमा पनि मुटु, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगको प्रकोप देखिदै गएको छ । पूर्वखोलामा पनि अवस्था त्यस्तै पायौँ ।’ 

शिविरमा डा रेग्मीसहित बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्य, मुटुरोग विशेषज्ञ डा. सत्यनारायण सुवाल, मुटुरोग विशेषज्ञ डा अजय अधिकारी, डा सुदीक्षा भण्डारी सहित स्थानीय अहेव, स्टाफनर्स, अनमी सहितको टोली खटिएको थियो ।