पूर्वखोला गाउँपालिकाको बजेट ४४ करोड, कृषि, स्वास्थ्य र शिक्षामा प्राथमिकता

पूर्वखोला । पूर्वखोला गाउँपालिकाले आगामी वर्षका लागि ४४ करोड बराबरको बजेट गाउँसभामा पेश गरेको छ ।

गाउँपालिकामा आयोजित सातौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले आर्थिक वर्ष २०७७\०७८ का लागि वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुभएको हो । पूर्वखोलाको बजेट ४४ करोड १७ लाख ८५ हजार ७ सय १० रुपैँया बराको रहेको छ । चालु वर्षको खर्च कम भई करिव ४ करोड सञ्चित रहने गाउँपालिकाको अनुमान रहेको छ । सामाजिक विकासमा ४ करोड, पूर्वाधारमा ५ करोड ९३ लाख, सुशासनमा ३ करोड ३३ लाख र आर्थिक विकासमा ४ करोड १५ लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित भएपछि बजेट प्रस्तुत गरिएको हो । वार्षिक नीति तथा कार्यक्रममा कृषिमा एक वडा एक उत्पादन, घर एक फलफूलका बोट अनेक, कृषि बजारको सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउने, सिलुवामा लोपुन्मुख अवस्थामा रहेको घरबुनालाई तालिम सञ्चालन गरी संरक्षण गर्ने, परम्परागत कुँडुले घर संरक्षण गर्ने, विद्यालय सुधार योजना लागू गरी गुणस्तरीय शिक्षामा जोड दिने, विद्यालयमा शिक्षक दरबन्दी मिलान गर्ने, गाउँपालिकामा अस्पताल सञ्चालनमा ल्याउने, विदेशबाट आएका नागरिकलाई विना पिसिआर घर नपठाउने जस्ता कार्यक्रम समावेश गरिएका छन् ।

पूर्वखोला गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका बनाउने, टुकिरहित गाउँपालिका घोषणा गर्ने, गाउँपालिकाभित्रका २ सय युवालाई रोजगारी दिने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा ल्याउने, घरघरै एक धाराको व्यवस्था गर्ने, महत्वपूर्ण बस्ती र बजार उन्मुख क्षेत्रका सडकलाई कालोपत्रे गर्ने जस्ता कार्यक्रम गरी सिहंदरबाको अधिकार घर आँगनसम्म भन्ने सन्देशलाई जनतासम्म पु¥याउने गाउँपालिकाको योजना रहेको छ ।

गाउँसभाका प्रमुख अतिथि प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले कोभिड १९ को संक्रमण रोकथाम र उपचारका निम्ति विदेशबाट फर्किएका नागरिकलाई क्वारेन्टिनमा राख्ने, पिसिआर परीक्षण गराउने काममा पूर्वखोलाले गरेको प्रयत्न एकदमै प्रशंसनीय रहेको बताउनुभयो । गाउँपालिकाले श्वाव बोक्ने क्यारियर भिटिएम खरिद गरी धेरैभन्दा धेरैको परीक्षण गराउन सफल रहेको उहाँको भनाई छ । प्रदेशसभा सदस्य आचार्यले तीन वटै अंगको अधिकार पाएको स्थानीय सरकारले आन्तरिक स्रोत परिचालन, शिक्षा र स्वास्थ्यको व्यवस्थापन र पूर्वाधार निर्माणमा संयोजनकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख मिरा मरासिनीले संस्थागत विद्यालय सामुदायिक विद्यालयमा मर्ज गरेर उदारहणीय बनेको पूर्वखोलाले धेरै रचनात्मक कार्यक्रम अगाडि बढाएको बताउनुभयो । जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले जनपक्षीय कार्यक्रमको प्रशंसा गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर पछाइले जनप्रतिनिधिसँगकाे समन्वयमा मात्र कर्मचारीले काम गरेकाे र भाेलिका दिनमा पनि जनताकै चाहना र रुची अनुसारकाे सेवा दिन तप्पर रहेकाे बताउनुभयाे । गाउँसभाको आगामी बैठकमा बजेट तथा कार्यक्रम र विनियोजन विधेयकमाथि छलफल हुनेछ । गाउँसभा स‌सदीय अभ्यास अनुसार पालिका अध्यक्ष नुनबहादुर थापाले सञ्चालन र सहजिकरण गर्नुभएकाे थियाे ।