पूर्वखोला र बगनासकाली प्रवेश गर्न पीसीआर रिपाेर्ट चाहिने

पाल्पा — पाल्पाको पूर्वखोला र बगनासकाली गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने नागरिकहरुलाई पीसीआर परीक्षणको नतिजा अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागू गरेका छन् ।

मुलुकका विभिन्न भागका साथै छिमेकी स्थानीय तहमा कोरोना भाइरसका संक्रमित संख्या बढ्दै गएकाे भन्दै आफ्नाे पालिकामा आवतजावत नगर्न स्थानीय तहले आग्रह गरेका हुन् । गाउँपालिका प्रवेश गर्ने नागरिकको संख्यामा वृद्धि भएपछि ७२ घण्टा भित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट लिएर मात्र पालिकाभित्र प्रवेश गर्न दिइने पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद पनेरूले बताउनुभयाे । पूर्वखोला गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमितको संख्या बढेपछि कात्तिक ७ गतेसम्मका लागि गाउँपालिका र वडा कार्यालय सिल गर्ने निर्णयसमेत गरेकाे छ ।

बगनासकाली गाउँपालिकाले पनि समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विदेश र जिल्लाबाहिरबाट आउनेलाई अनिवार्य पीसीआर रिपोर्ट पेस गर्नुपर्ने जनाएको छ । गाउँकार्यपालिकाको बैठकले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट सम्बन्धित वडाध्यक्षलाई बुझाएर मात्र गाउँ प्रवेश गर्न दिइने निर्णय गरेको हो । भारतलगायत तेस्रो मुलुक र मुलुकभित्रकै विभिन्न स्थानबाट आउनेहरुलाई कडाइका साथ होम क्वारेन्टाइन बस्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयाे । 

कोरोना भाइरस संक्रमण बढेपछि वगनासकाली गाउँपालिकामा पनि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको छ । सोमबारदेखि ६ गते शुक्रबार राति १२:०० बजेसम्मका लागि गाउँपालिकाभित्र अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको गाउँपालिकाका प्रवक्ता लक्ष्म प्रसाद अधिकारीले जानकारी दिनुभयाे । गाउँपालिका र नौ वटै कार्यालय, शैक्षिक संस्थाहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनालले शैक्षिक संस्थाहरू, स्वास्थ्य र सहकारी संस्थाहरूको अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द भएको जानकारी दिनुभएकाे छ ।