तानसेन । प्रतिनिधिसभा विघटनको विरूद्ध नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहले पाल्पाको तानसेनमा बृहत् प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले संसद विघटन गरेको र त्यो कदम गैरसंवैधानिक भएको भन्दै प्रचण्ड नेपाल समूहले विरोध प्रदर्शन गरेका हुन् । तानसेन टुँडीखेलबाट सुरु भएको विरोध र्याली आन्दोलनचोक, लहरेपिपल हुँदै हुलाकचोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले संविधानमै नभएको अधिकारको प्रयोग गरेर प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेर जनताले दिएको दुई तिहाई मतको अबमुल्यन गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय तुलाराम घर्तीमगरले प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने गरी कदम चालेको बताउनुभयो । उहाँले पार्टी भत्काएर भारतीय र अमेरिकी साम्राज्यवादीको इशारामा प्रधानमन्त्री ओली चलेको आरोप लगाउनुभयो । नेकपाकै केन्द्रीय सदस्य ठाकुर गहिरेले संसदबाट अर्को सरकार गठन हुन सक्ने विकल्प हुँदासम्म संसद भंग गर्न नमिल्ने बताउनुभयो । २०६२/०६३ को आन्दोलनमा अब कहिल्यै राजनैतिक अधिकारका लागि लड्न नपरोस्, फेरी जनता सडकमा आउन नपरोस् भनेर जनआन्दोलन गरेर संविधान बनाएपनि अहिले केपी ओलीको सनकले गणतन्त्रमाथि आघात पुगेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य नेत्र पाण्डेय, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे, तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेठले विघटनका बिरुद्धका बोल्नुभएको थियो । कार्यक्रम सचिवालय सदस्य कमल पाण्डेयको सञ्चालन सचिव राजेन्द्र विकको अभ्यक्षतामा चलेको थियो ।